- दुर्गामणि पौडेल
नेपालका बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको नेपाल एसबिआई बैंक धर्मदेवी शाखाले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत धर्मदेबी नगरपालिका वडा नम्बर ३ मा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल केजी देखि कक्षा ४ सम्मका विद्यार्थीहरुलाई १ सय ५३ थान ट्रयाक सुट प्रदान गरेको छ ।
बैंकले विगत देखि नै विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको धर्मदेवी शाखाका कर्मचारी जिवसराज अर्यालले बताए । बैंकले लिएको यस्तो पहलबाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने र शैक्षिक गुणस्तरमा सघाउ पुग्ने विश्वास लिएको छ ।
बैंकले बिद्यालयमा गरेको यो किसिमको कार्यक्रम प्रभावकारी रहेको र यो कार्यक्रमबाट विद्यार्थी मात्र नभई अभिभावक समेत हर्षित रहेको हुनाले आउँदा दिनमा समेत यस्ता किसिमका कार्यक्रमहरु अन्य संस्थाले समेत संचालन गर्न सिंहेश्वरी माध्यमिक विद्यालयकी प्रधानाध्यापक देवीमाँया चापागाईंले अनुरोध गरिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर पौडेलले यस्ता महत्वपूर्ण कार्यक्रम ल्याएर सिंहेश्वरी माध्यमिक विद्यालयलाई छनोट गर्नुभएकोमा एसबीआई बैंक परिवारलाई धन्यवाद दिए ।
उक्त कार्यक्रममा कोशी प्रदेससभाका पूर्वसाँसद पदमकुमारी गुरुङ, बैंकका धर्मदेवी शाखा प्रवन्धक सुशिल निरौला, बैंकका कर्मचारी जीवसराज अर्याल, नेपाल पत्रकार महासंघ संखुवासभा कार्यसमिति सदस्यय दुर्गामणि (दुर्गेश) पौडेल तथा सोही विद्यालयका शिक्षक तथा कर्मचारी लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
२०७३ को स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि धर्मदेवी नगरपालिकाको मुढे बजारमा नेपाल एसबीआई बैंकले सेवा दिदै आएको छ भने बैंकले देशभर ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएमर १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।