संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा ब्याडमिन्टन खेलको पाँच दिने निर्णायक विकास कोर्ष तथा पुर्नताजगी (रेफ्री) तालिम शुरु भएको छ ।
शुक्रबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उक्त तालिमको औपचारिक रुपमा उद्घाटन गरे । उनले खेलकुदको माध्यमद्धारा संखुवासभाको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि भइरहेको बताउर्दै आगामी दिनमा राष्ट्रियस्तरका ब्याडमिन्टन प्रतियोगिता खाँदबारीमा संचालन गरेको खण्डमा नगरपालिकाले सहयोग गर्ने बताए ।
खाँदबारी नगरपालिकाले ब्याडमिन्टन मात्रै नभएर खेलकुदका अन्य विधा भलिवल र फुटबल लगायतका खेल संचालन गर्न समेत नगरपालिकाले सहयोग गर्दै आएको मेयर थपलियाको भनाइ थियो।

कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजना तथा संखुवासभा ब्याडमिन्टन संघको संयोजनमा शुरु भएको उक्त पाँच दिने तालिममा कोशी प्रदेश भित्रका ४५ जनाको सहभागीता रहेको छ । कोशी प्रदेशका १४ जिल्लाबाट दुई/दुई गरि १४ जना, संयोजक संखुवासभा जिल्लाबाट ४ जना र पुराना अनुभवी रेफ्रीको पुर्नताजगी गर्न १३ जना गरि कुल ४५ जना सहभागी रहेको संखुवासभा ब्याडमिन्टन संघका सचिव रुद्रमणि श्रेष्ठले जानकारी दिए ।
तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुवै हुनेछ । तालिमको अन्तिममा परिक्षा हुनेछ र सो परिक्षामा अनुतिर्ण भएको खण्डमा प्रमाणपत्र नदिने ब्यबस्था रहेको सचिव श्रेष्ठले बताए ।
उक्त तालिममा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सचिव तथा अन्तर्राष्ट्रिय रेफ्री दिपक थापा र राष्ट्रिय रेफ्री केदार धिमालले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
उक्त तालिमको उद्घाटन सत्रमा कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ, खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, खाँदबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज खत्री, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, जिल्ला भलिबल संघका अध्यक्ष मेदिनी घिमिरे तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य इन्द्र गिरी र पत्रकार लगायत संखुवासभा ब्याडमिन्टन संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
उक्त तालिममा ६ लाख ६७ हजार १ सय रुपैया खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । तालिममा १९ गते मंगलबार समापन हुनेछ ।
