संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ११ का भित्रका महिला, बालबालिका, दलित तथा टोल विकास संस्थाका पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको दुई दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
खाँदबारी नगरपालिका ११ नम्बर वडा कार्यालयको आयोजना तथा माताश्री संचार गृह प्रालिको सहजीकरण ब्यबस्थापनमा विहिबार र शुक्रबार दुई दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएको हो । उक्त दुई दिने क्षमता विकास कार्यक्रममा ११ नम्बर वडास्तरका महिला, बालबालिका, दलित र ११ नम्बर वडाभित्रका १४ वटा टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै खाँदबारी नगरपालिका ११ नम्बर वडाका वडाध्यक्ष अनिल राईले भौतिक पूर्वाधार मात्रै विकास नभई सबैभन्दा पहिले मानवको विकास हुनपर्ने बताए । उनले जव मानिस भित्र मनबाट सकारात्मक सोच विचार सहित दक्ष हुन्छ तब मात्रै बाहिरी दुनियाँको विकास क्रमश हुर्दैं जाने भएकाले वडाले क्षमता विकास तालिमको आयोजना गरेको बताउर्दै सिकेका कुराहरु ब्यबहारमा परिर्वतन ल्याउन आग्रह गरेका थिए ।

उक्त दुई दिने क्षमता विकास कार्यक्रममा नेतृत्व विकास, महिला सशक्तीकरण, उद्घोषण कला र भाषणकला, बालअधिकार संरक्षण, दलित समुदायको अधिकार सुनिश्चितता, सामाजिक समावेशीकरण तथा टोल विकास संस्थाको प्रभावकारी सञ्चालन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा सहभागीहरूले समुदायस्तरमा देखिएका समस्या पहिचान, समाधानका उपाय, स्थानीय स्रोत–साधनको परिचालन, योजना तर्जुमा तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विषयमा व्यवहारिक ज्ञान हासिल गरेका थिए । प्रशिक्षकहरूले स्थानीय विकास प्रक्रियामा महिला, बालबालिका तथा दलित समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बारेमा जानकारी दिएका थिए ।
तालिमको समापन कार्यक्रममा सहभागीको तर्फबाट स्पन्दन राई र दुर्गाकुमारी गुरुङले आफ्नो धारण, बुझाई र सिकेका कुराहरु प्रस्तुत गरेका थिए । उनीहरुले दुई दिने कार्यक्रम निकै प्रभावकारी र राम्रा राम्रा ज्ञान र सीप सिकेको बताउर्दै सिकेका कुराहरु समुदायको हितमा उपयोग गर्ने धारणा राखेका थिए ।
उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला समूहका प्रतिनिधि, बाल क्लबका पदाधिकारी, दलित समुदायका अगुवा तथा टोल विकास संस्थाका पदाधिकारीहरू लगायत ३५ जनाको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता तालिमले नेतृत्व क्षमता अभिवृद्धि हुनुका साथै समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
उक्त कार्यक्रममा खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य दिपेन्द्र राई, वडा सदस्यहरु पृथीमान राई, लिला घले गुरुङ, कमला सार्की, वडा सचिव गोविन्दलाल राई र छत्रमणि काफले लगायतले तालिमबाट सिकेका कुराहरु सहि सदुपयोग गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, विकास राई र नवीन गुरुङ लगायतले सहजीकरण गरेका थिए ।
