संखुवासभा । संखुवासभाको सिलीचोङ गाउँपालिकाले आयोजना गरेको ‘सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता’ आज देखि शुरू हुने भएको छ ।
आज (शनिबार) दिउँसो १२ बजे सिलीचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले एक समारोह बीच प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ बर्ष २०८३ सालको अवसरमा आयोजित प्रतियोगिता बैशाख १ देखि ६ गते सम्म गर्ने तयारी रहेपनि विविध प्राविधिक कारणले सारिएको र आज (५ गते शनिबार) देखि ८ गते समापन गर्ने गरि प्रतियोगिता शुरुवात गरिएको सिलीचोङ गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
प्रतियोगितामा संखुवासभा, भोजपुर र झापा गरि ३ जिल्लाको ९ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । आयोजक सिलीचोङ गाउँपालिका, चिचिला गाउँपालिका, कन्काई नगरपालिका झापा, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, साल्पाशिलिछो गाउँपालिका भोजपुर, षडानन्द नगरपालिका भोजपुर र चैनपुर नगरपालिकाले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तृतीय र सान्तवनाले क्रमशः नगद ३५ हजार रुपैया र २५ हजार रुपैया प्राप्त गर्नेछन् । त्यसैगरि सर्वोकृष्ट खेलाडी, उत्कष्ट स्पाइकर, ब्लकर, सेटर र लिबेरो सर्वर र म्यान अफ दी म्याचलाई जनही पुरस्कृत गरिनेछ ।