काठमाडौं । संघीय सरकारअन्तर्गत कार्यरत कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले नयाँ भुक्तानी व्यवस्था कार्यान्वयनमा ल्याउन मातहतका कार्यालयलाई निर्देशन दिएको छ।
महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक तलब भुक्तानीसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
अर्थ मन्त्रालयले गत वैशाखमै संघीय निकायका कर्मचारीलाई अर्धमासिक रूपमा पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको थियो। तर आवश्यक प्रणाली र प्राविधिक संरचना तयार नभएका कारण निर्णय तत्काल कार्यान्वयन हुन सकेको थिएन।
महालेखा नियन्त्रक कार्यालयको सोमबारको निर्णयसँगै अब एक महिनालाई दुई चरणमा विभाजन गरी प्रत्येक १५ दिन पूरा भएपछि कर्मचारीलाई तलब तथा सम्बन्धित भत्ता भुक्तानी गरिनेछ।
सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्यक्षेत्रमा रहेका संघीय सरकारी निकायले अर्धमासिक तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग गरेमा आवश्यक प्रक्रिया अघि बढाउन महालेखा नियन्त्रक कार्यालयले निर्देशन दिएको छ।
अर्धमासिक तलब भुक्तानीको अभ्यास संघीय सरकारअन्तर्गत सुरुमा अर्थ मन्त्रालयबाट लागू गरिएको थियो। चालु आर्थिक वर्षदेखि सबै संघीय निकायमा विस्तार गर्ने योजना भए पनि प्रणालीगत तयारीमा भएको ढिलाइका कारण निर्धारित समयभन्दा करिब एक महिनापछि यो व्यवस्था कार्यान्वयनमा आउन लागेको हो।