संखुवासभा । तमू ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति संखुवासभाले तमू ल्होसारको अवसरमा खाँदबारीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार सदरमुकाम खाँदबारीस्थित तमू ह्युल छोजधीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति संखुवासभाको भवनमा सप्री ल्हो (गुरुड वर्ग)को विदाई गर्दै तों ल्हो (घोडा वर्ग) को स्वागत शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
उक्त तमू ल्होसारको अवसरमा तीन जना तमू कर्मचारीहरुलाई सम्मान गरिएको थियो । जसमा उत्तरदक्षिण कोसी सडक कार्यालय प्रमुख इन्जिनियर रामबहादुर गुरुङ, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यालय प्रमुख नवराज गुरुङ र सिटिजन बैंकका शाखा प्रबन्धक ध्रुब गुरुङलाई खाँदा, माला र सम्मानपत्रद्धारा कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले सम्मानित गरेका थिए ।

तीनै जना कर्मचारीहरु संखुवासभा जिल्ला बाहिरका हुन् । मुलुक भित्रका जुनसुकै जिल्ला भएपनि संखुवासभामा आएर सेवा गर्नु साथै राष्ट्रलाई तमू समुदायको तर्फबाट नोकरीमा प्रवेश गरि योगदान पुर्याएकाले सम्मान गरिएको तमू ह्युल छोज धींका कार्यवहाक जिल्ला अध्यक्ष खिलराज गुरुङले बताए । उनको अनुसार, केही साताअघि मात्रै तमू ह्युल छोज धींले मालपोत कार्यालय खाँदबारीका प्रमुख अम्बरबहादुर गुरुङ र नेपाल वाणिज्य बैंकका शाखा प्रबन्धक कमला घलेलेलाई सम्मानपत्रद्धारा सम्मानित गरेका थिए ।
तमू समुदायको ब्यक्तिहरु निजामति, बैकिङ, सेना प्रहरी र राजनैतिक क्षेत्र लगायत जुनसुकै क्षेत्रमा अगाडी बढेका ब्यक्तिहरुलाई हौसला प्रदान गर्न जातीय संस्था तमू ह्युल छोजधीं भएकाले सम्मान गर्ने गरेको कार्यवहाक अध्यक्ष खिलराज गुरुङले बताए ।
कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाले मुलुक बहुजातिय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले सबै जातजातिहरु मिलेर मनाउनुपर्ने बताउर्दै सबैमा ल्होसारको शुभकामना दिए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई, नेपाली कांग्रेसका नेता थलकुमार लिंखा, नेपाली कम्प्यूनिष्ट पार्टीका आरपी किराँती, जसपा नेपाल कृष्णप्रसाद तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमका तमू ह्युल छोज धींका केन्द्रीय सदस्य मित्रकुमार गुरुङ, खाँदबारी ४ नम्बरका वडाध्यक्ष विनोदसुब्बा गुरुङ, १ नम्बर सदस्य सूर्य कोरङ्गी गुरुङ र जापान गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
तों ल्हो (घोडा वर्ग) को स्वागत गर्दै तमू समुदायमा ल्होसार भित्रिसकेकाले विभिन्न कार्यक्रमहरु शुरु भईसकेको छ ।
