संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा कोशेली घर स्थापना गरिएको छ ।
विहीबार एक कार्यक्रम बीच खाँदबारीमा कोशेली घर स्थापना गरिएको हो । एक कार्यक्रम बीच जिल्ला समन्वय प्रमुख संखुवासभाको प्रमुख सुमन शाक्यले कोशेली घरको उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको ७५ प्रतिशत अनुदान र संखुवासभा उद्योग बाणिज्य संघको २५ प्रतिशत लगानीमा प्याकेजिङ प्रशोधन मेशिन सहित करिव नौ लाखको लागतमा कोशेलीघर स्थापना गरिएको हो ।
जिल्लाको रैथाने उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरसम्म बजारीकरण गर्ने उद्धेश्यले कोशेली घर संचालन गरिएको संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले बताए । उनको अनुसार, उक्त कोशेली घरमा संखुवासभामा उत्पादित अल्लोबाट बनेका कपडा, जुत्ता चप्पल, झोला, सल सख्खर, अलैंचिका परिकार, बिश्वमै दुर्लभ संखुवासभामा मात्रै उत्पादन हुने ताक्मरु धानको चामल, रुद्राक्षबाट बनेका हस्तकलाका सामग्री, संखुवासभामा पाईने जडिबुटि, छुर्पि लगायतका रैथाने उत्पादनहरु राखिनेछ ।
जिल्ला समन्वय समिति संखुवासभाको भवनमा रहेको सटरमा कोशेली घर स्थापना गरिएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गरि राष्ट्रिय रुपमा संखुवासभाका रैथाने उत्पादनको अन्तराष्ट्र्रियकरणका लागि कोशेली घरले महत्वपुर्ण योगदान दिने जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले बताए ।
त्यसैगरि संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेलले संखुवासभामा उत्पादन हुने उत्पादित बस्तुहरुको स्थान बिशेष बिशिष्टीकरण गर्न सकिए कोशेली घरको थप प्रभावकारिता बढ्ने र स्थान बिशेषलाई पहिचान दिलाउन सकिने धारणा राखे ।
अहिले संखुवासभा केन्द्रिय सडकमार्ग संग जोडिएकाले बाह्य पर्यटकको समेत उल्लेख्य उपस्थीति रहने गरेको छ । पर्यटन प्रवर्धनमा स्थानीय रैथाने उत्पादनले ठुलो भुमिका खेल्ने भएकाले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्ष २०८२ लाई सफल बनाउन संखुवासभा कोशेली घरको स्थापनाले महत्वपुर्ण भुमिका खेल्ने संखुवासभा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष संजिव कुमार श्रेष्ठले बताए ।
संघका अध्यक्ष डेगराज बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रम महासचिव प्रबिण श्रेष्ठले संचालन गरेका थिए ।