संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–२ स्थित हुङहुङमा रहेको हुङहुङ सामुदायिक स्वास्थ्य इकाइको झ्याल फोडेर सामान चोरी र तोडफोड भएको छ ।
गयराती सामुदायिक स्वास्थ्य इकाइ भवनको पछाडी पट्टि रहेको झ्याल फोडेर कार्यालय भित्र रहेको टेलिभिजन, इन्टरनेटको राउटर, इलेट्रिक जग, राइसकुकर र स्वास्थ्यकर्मीका अन्य उपकरणहरु फुटाउने र केही चोरी गरेर लगेको पाइएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फूर्पू भोटेले बताए । घर भित्र दुई वटा जुत्ता समेत भेटिएकोले चोरीमा संलग्न दुई रहेको अनुमान गरिएको उनको भनाइ छ ।
रातको समयमा कार्यालय भित्र झ्याल फोडेर पसि तोडफोड गर्नु र चोरी गर्ने काम भएको हो । घटनास्थलमा प्रहरी टोली पुगी प्रारम्भिक अध्ययन र अनुसन्धान गरिरहेको स्वास्थ्य शाखा प्रमुख भोटेको भनाइ छ । घटनाको सरसर्ती विवरण हेर्दा ६० हजार रुपैया भन्दा बढिको क्षति र चोरी भएको देखिएको तर विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
केही बर्षअघि भोटखोला गाउँपालिकाको केन्द्रमा समेत आगजनी भएको थियो । तर, रातको समयमा कसले आगो लगाएको भनेर पहिचान समेत नभई त्यो केस त्यतिकै सकिएको थियो ।