संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकामा कार्यरत कर्मचारीहरुले संघीय निजामती ऐन ल्याउन १४ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सोमबार स्थानीय तहका कर्मचारीहरु जिल्ला प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । संघीय ऐन नभएका कारण सेवासुविधामा समस्या, स्थानीय तहले फिर्ता पठाएका कर्मचारीहरु महिनौ देखि संघीय मामिला मन्त्रालयमा धाउनुपर्ने र सेवाको असुरक्षित हुने परिस्थिति सिर्जना भइरहेकोले चाँडो ऐन जारी गर्न देशै भरिको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाईएको जनाएको छ ।
संघीय कार्यापालिकाको बैठकबाट संघीय निजामती सेवा ऐनको मस्यौदा संसदमा दर्ता गराउने निर्णय गरेतापनि हालसम्म संसदमा दर्ता नभएको र सरोकारवाला समक्ष आधिकारिक मस्यौदा समेत नपुगेको अवस्थाले स्थानीय तहका कर्मचारीहरुको भविष्यमाथि अन्यौलको परिस्थिति सिर्जना भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले ध्यानाकर्षण पत्र सही समयमा आएको र जसलाई तुरुन्तै गृह मन्त्रालयमा पठाउने बताए ।