संखुवासभा । गएमध्यराति जाजरकोटमा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा देशभर धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। सो भुकम्पमा परी जाजरकोट र रुकुममा ४३ जनाको मृत्यु पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ४३ जनाको मृत्यु छ भने ४० बढी घाइते भएका छन् ।
उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्दारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए । उनले भने, ‘भूकम्प गएको थाहा पाउनासाथ हामीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्दार टोली खटाइसकेका छौं।
रातिको समय भएकाले सबै घरमा सुतेका हुन्छन् । भत्किएको घरमा पुरिएकाहरुको उद्दारका लागि हाम्रा साथीहरु परिचालन भइसक्नुभएको छ ।’ रातीको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए । उनका अनुसार, हालसम्मको सूचनामा जाजरकोट र रुकुममा नै ज्यादा क्षति पुगेको छ ।
जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ। उपमेयर सिंहको सदरमुकाम खलगामा रहेको घर भत्किँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
भुकम्प पिडीतको राहत र उद्धारमा जुटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गरेका छन् ।