संखुवासभा । नेपाली कांग्रेस संखुवासभाले आइतबारबाट 'समुदायमा कांग्रेस अभियान' सुरू गरेको छ । 'समुदायमा जाऔं, जनताका कुरा सुनौ' नारा सहित कांग्रेसले अभियान सुरू गरेको हो ।
केन्द्रीय सदस्य दिनेश कोईरालाले अभियान सुरू गरेको घोषणा गरे । उनले माघ २६ सम्म चल्ने अभियानका क्रममा तल्लो तहको समुदायसम्म नेता र कार्यकर्ता पुगेर जनताका हितमा सामाजिक सेवाका काम गर्न निर्देशन दिए । उनले टोल-टोलमा पुगेर जनताका समस्या र गुनासालाई टिपोट गर्ने र समाधान गर्न आग्रह गरे ।
अर्का केन्द्रीय सदस्य तारामान गुरूङले वडाबासी सङ्ग छलफल गरेर तीनवटै तहका सरकारसंगको जनताका अपेक्षा, गुनासा र सुझाब सुन्ने र पाटिका बारेमा जनताका सुझाब लिनु पर्ने बताए ।
अभियान सफल पार्न निवर्तमान सभापति दिपनकुमार श्रेष्ठको संयोजनमा ५ सदस्यीय समिति पनि गठन गरिएको छ । समितिको सदस्यहरूमा जिल्ला सचिवहरू कुमारबाबु अधिकारी र टकमान घले रहेका छन् । त्यस्तै क्षेत्रीय सभापति देउमान राई र दिपेन्द्रमान शाक्य रहेका छन् ।
अभियानका लागि ७६ वटै वडामा प्रतिनिधि खटाईएको छ भने १० वटा स्थानीय तहमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि खटाईएको जिल्ला सचिव कुमारबाबु अधिकारीले बताए । अभियान कार्यक्रममा सचिव टकमान घलेले केन्द्रबाट आएको निर्देशन पढेर सुनाए ।
धनकुटा सभापति दिनेश राईले यो अभियानलाई तल्लो तहसम्म पुगेर सफल पार्नु पर्ने बताए । कार्यक्रम उपसभापति रामकुमार जिमिको अध्यक्षतामा भएको थियो ।