संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका–१ स्थित घिमिरे गाउँमा ३ करोड ८४ लाख रुपैयाको लागतमा इन्डोर स्टेडिएम (कभर्ड हल) निर्माण भएको छ ।
यति ठूलो लागतमा कोशी प्रदेशभित्रका १४ जिल्लामध्येको नै उत्कृष्ट “सोमनाथ मेमोरियल इन्डोर स्टुडिएम (कभर्ड हल)” खाँदबारीमा निर्माण सम्पन्न भएको हो । उक्त कभर्ड हलको बुधबार एक कार्यक्रमको बीच खाँदबारी नगरपालिका मेयर महेश थपलियाले उद्घाटन गरे । अहिले सम्म सुविधा सम्पन्न कभर्ड हलको अभावमा खेलाडीहरुले बाहिर झरी, बादल र घामपानी नभनिकन खेल्नुपर्ने बाध्यता रही आएकोमा अब हटेको मेयर थपलियाले बताए । उनले नवनिर्मित इन्डोर स्टेडिएम भित्र जुनसुकै साना ठूलो खेलकुद प्रतियोगिताहरु गर्न सहज भएको बताए ।
यो कभर्ड हलमा सुरक्षित र सुविधा सम्पन्न हल हो भन्ने लागेको छ र यसले खेल क्षेत्रमा थप उचाई पु-याउन मद्धत पुग्न भन्ने अपेक्षा गरिएको मेयर थपलियाको भनाइ थियो ।
कोशी प्रदेश सरकार र खाँदबारी नगरपालिकाको संयुक्त लगानीमा कभर्ड हलको निर्माण गरिएको हो । जग्गादातालाई सम्बोधन गर्दै कबर्ड हलको नाम “सोमनाथ मेमोरियल इन्डोर स्टुडिएम” राखिएको समेत जनाएको छ।
कभर्ड हल निर्माणको ठेक्का अरुणबरुण निर्माण सेवा कम्पनीसँग २०७९ जेठ २४ गते संम्झौता गरेको थियो । २०८१ जेठ २४ मा सम्पन्न हुनुपर्ने योजना ७ महिना अगाडी नै सम्पन्न गरेर निर्माण कम्पनीले खाँदबारी नगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त कभर्ड हल निर्माणको काम निर्माण कम्पनीले भ्याट बाहेक ३ करोड ८४ लाख ८३ हजारमा नै निर्माण गर्ने गरी सम्झौता गरेको थियो । म्याद भन्दा अगाडी नै काम सम्पन्न गरेबापत निर्माण कम्पन्नीले थप २३ लाख बोनस समेत प्राप्त गरेको छ । म्याद भन्दा अघि नै निर्माण कार्य सम्पन्न गर्ने अरुणबरुण निर्माण सेवा कम्पनीका प्रवन्ध निर्देशक मिगुर शेर्पालाई खाँदबारी नगरपालिकाले सम्मान समेत गरेको थियो ।
अरुणबरुण निर्माण कमपनीले यसै वर्ष समय भन्दा ५ महिना २८ दिन अगाडी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भवन समेत निर्माण सम्पन्न गरेको थियो । कभर्ड हलको उद्घाटन कार्यक्रममा खाँदबारी नगरपालिका पूर्वमेयर मुरारीप्रसाद खतिवडा, संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, खाँदबारी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत निर्माणकुमार कार्की, खाँदबारी १ नम्बरका वडाध्यक्ष निरन्जन श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
भवन हस्तान्तरण कार्यक्रममा जग्गादाता डा.सोहन घिमिरे र उनकी श्रीमती सुमना घिमिरेलाई खाँदबारी नगरपालिकाले सम्मान गरेको थियो । उक्त जग्गा घिमिरे परिवारले स्वर्गिय बुबा सोमनाथ घिमिरेको नाममा हिमालय माध्यमिक विद्यालय खाँदबारीलाई दान गरेका थिए । खाँदबारी नगरपालिकाले भाडामा लिई कभर्ड निर्माण गरेको हो । कबर्ड हल हस्तान्तरण कार्यक्रमको अवसरमा हिमालय माध्यमिक विद्यालय खाँदबारीले पनि जग्गा दाता घिमिरे परिवारलाई सम्मान गरेको छ । हिमालय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर पराजुली, सहायक प्रधानाध्यपक भरत कुलुङ, शिक्षक ताराबहादुर बुढाथोकी लगायले जग्गा दातालाई सम्मान गरेका हुन् । जिल्ला व्याडमिन्टन संघले समेत जग्गादातालाई सम्मान गरेको थियो ।