संखुवासभा । संखुवासभाको सदरमुकाम समेत रहेको खाँदबारी बजार हराभरा र सौन्दर्य भरिपूर्ण बनाउन खाँदबारीका टोलवासीहरु आफै जुटेका छन् ।
खाँदबारी–१ पसल टोलका स्थानीयहरु घर–घरमा गमला राख्ने अभियान चलाएको हो । गत शुक्रबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले गमलामा पानी हालेर अभियानको उद्घाटन गरेका हुन् । टोलवासीहरुलाई मेयर थपलियाले गमला हस्तान्तरण गरेका थिए ।
गमला हस्तान्तरण गर्दै मेयर थपलियाले नगरबासीहरु आफै सक्रिय भएर सुन्दर नगर बनाउन लागि परेकोमा खुशी लागेको बताए । उनले नगरवासी आफै लागे परेमा समृद्ध नगर बनाउन सकिने धारणा राखे । उनले पसल टोलमा स्मार्ट लाइट जडानको लागि अगाडी बढ्ने बताए । ‘बजारमा रातको समय हुने अपराधिक घटनाहरु न्यूनीकरण गर्न र अस्पताल आसपासको क्षेत्र भएकाले यहाँ मानिसहरु आवातजावात भईरहने भएकाले स्मार्ट लाइट जडान गर्ने योजना छ, टोलवासीहरु लाग्नुभएको छ । म काम गर्छु, हातेमालो गरेर अगाडी आउन आग्रह गर्दछु ।’–मेयर थपलियाले भने ।
उक्त क्षेत्रमा सिसि क्यामेरा जडान भएको भएपनि स्मार्ट लाइट जडान भए झन सहज हुने मेयर थपलियाको भनाइ थियो ।
खाँदबारी नगरपालिका–१ स्थित प्रहरी गेट देखि जिल्ला समन्वय समितिको गेट सम्मका पसल टोल विकास संस्थाका स्थानीयहरु टोललाई हराभरा र सुन्दर बनाउन आफै जुटेका छन् । ५८ घर रहेको उक्त पसल टोलमा ५२ हजार बराबरको गमला घर–घरमा वितरण गरिएको स्थानीय अगुवा पुष्पबहादुर श्रेष्ठले बताए । श्रेष्ठकै अगुवाईमा टोल विकास संस्थामा रहेको बचत रकमबाट गमला खरिद गरि घर–घरमा वितरण गरिएको हो । बजारलाई सुन्दर बनाउनु पर्छ भनेर घर अगाडी आँगनको डिलमा अनिवार्य रुपमा गमलामा फुल रोप्नु पर्ने अभियान चलाउर्दै गमला वितरण गरेको हो ।
खाँदबारी नगरपालिकामा मेयरमा निर्वाचीत भएर आउने बित्तिकै मेयर थपलियाले सुन्दर र हराभरा खाँदबारी नगरपालिका बनाउन अभियान नै संचालन गरेका थिए । खाँदबारी नगरपालिका–९ को तुम्लिङटार कत्लेभञ्जाङ्ग देखि खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ्ग सम्म घर–घरमा विरुवा सहितका गमला वितरण गरेका थिए । सफा र सुन्दर नगर बनाउने अभियान अझै निरन्तरता दिइने नगरपालिकाको भनाइ छ । नगरको पहिचान नै सफा र सुन्दर नगर बनाउन रहेको मेयर थपलिया बताउँछन् ।