संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मंगलबार देखि शुरु भएको छ ।
जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका–७ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको एक कार्यक्रम बीच कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । उनले कोशी प्रदेश भित्र खेल क्षेत्रको विकास गर्न आगामी बजेटमा विशेष ब्यबस्था गर्ने बताए ।
ऐतिहासिक रुपमा आयोजना गरिएको राष्ट्रिय स्तरका भलिवल प्रतियोगिताको उद्घाटन सत्रमा विभिन्न जातजातिहरुको झाँकी प्रर्दशन र नाच प्रस्तुत गरेका थिए । प्रतियोगितामा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, राजनैतिक दल र कोशी प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । राष्ट्रियस्तरका प्रतियोगिता भएकाले खेल हेर्न दर्शकहरुको निकै ठूलो भीड लागेको थियो ।
प्रतियोगिताको पहिलो दिन ३ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीच भएको थियो । तीन वटै सोझो सेटमा आर्मीले कर्णालीलाई हराए । पहिलो सेटमा २५—११, दोस्रो २५—१० र तेस्रो २५–११ मा नै हराएका थिए ।
त्यसैगरि दोस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बीच भएको थियो । तीन सेट जित्र्दै गण्डकीले लुम्बिनीलाई हराए भने एक सेटमा लुम्बिनीले गण्डकीलाई हराउर्दै ४ सेट खेल भएको थियो । पहिलो सेटमा २५–१७, २५–२२ र २५—१८ ल्याएर गण्डकीले जिते तर एक सेटमा लुम्बिनीले ३३—३१ ल्याई गण्डकीलाई हराएका थिए ।
त्यसैगरि तेस्रो खेल नेपाल पुलिस क्लब र आयोजक कोशी प्रदेश बीच भएको थियो । सो प्रतियोगितामा नेपाल पुलिसले तीन सेट जिते भने एक सेट आयोजक कोशी प्रदेशले जितेको थियो । पहिलो सेटमा २५—२२ अंक ल्याएर पुलिसले जिते भने दोस्रो सेटमा २७—२५ अंक ल्याई कोशी प्रदेशले जितेको थियो । तेस्रो र चौथो सेट २५–१५, २५–२१ अंक ल्याउर्दै पुलिसले जित हासिल गरे ।
प्रतियोगितामा विभागीय तीनवटा टिमहरू आर्मी, सशस्त्र र प्रहरी सहित बागमती र मधेश प्रदेश बाहेक ५ प्रदेश गरि ८ टिमको सहभागिता रहेको छ । अन्तिम अवस्थामा बागमती र मधेस प्रदेश आउन नसकेको आयोजकले जनाएको छ ।
भलिबल संघ संखुवासभाले संयोजन गरेको प्रतियोगिता जिल्ला खेलकुद विकास समिति संखुवासभा र कोशी प्रदेश भलिबल संघको सहकार्य रहेको छ भने कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको हो । आज मंगलबार शुरु भएको प्रतियोगिता आगामी शनिबार १९ गते समापन हुनेछ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ, तृतीयले ५० हजार रुपैयाँ र चौथो हुने टिमले ३० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट ५ विधामा जनही नगद ५० हजार तथा सर्वोत्कृष्ट पुरस्कार नगद २५ हजार रुपैयाँ पाउनेछन् ।