संखुवासभा । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय जिल्ला प्रशासन कार्यालय संखुवासभाले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाले सामाजिक संजाल मार्फत सूचना जारी गर्दै जिल्लाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको अरुण नदिको किमाथांका र मकालु गाउँपालिका–३ को उवामा रहेको पानी मापन केन्द्र र अरुण नदिको सिम्ले धनकुटाको पानी मापन केन्द्रको सतह हेर्दा सतह बढेको देखिएकाले अरुण नदिको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण बासिन्दाहरुलाई सर्तक रहन अनुरोध गरेका छन् । स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ ।
निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिल्लो भेगमा निरन्तर बर्षा भइरहँदा अरुण नदीमा पानीको सतह बढेको हो ।