- नवीन गुरुङ
संखुवासभा । ग्रामीण क्षेत्रको सामुदायिक विद्यालयको खस्किदो शैक्षिक अवस्थालाई सुधार गर्न युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपाल लागिरहेको छ ।
विशेषः गरि ग्रामीण क्षेत्रको जीर्ण र खस्किदो शैक्षिक अवस्था रहेको सामुदायिक विद्यालयमा स्थानीय सरकारसँगको सहकार्यमा लगानी गरी रहेको छ । ०७२ साल देखी शुरु भएको यो संस्थाले संखुवासभा, गुल्मी र ताप्लेजुङमा गरि ७६ वटा विद्यालयमा लगानी गरीसकेका छन् । तिमध्ये पाँच बर्ष पूरा भएको १३ वटा विद्यालय स्थानीय तहलाई हस्तान्तरण समेत गरिसकेका छन् ।
हाम्रो गाउँठाउँको विद्यालयको शैक्षिक अवस्था, विद्यालयको संरचना, पूर्वाधार हेर्दा विद्यार्थीहरुलाई विद्यालय प्रति आकर्षित गर्ने खालका नभएको पाइएकाले हाम्रो शैक्षिक सुधार नगरेसम्म विकास र समृद्धिको कुरा नारामा मात्रै सिमित हुने भएकाले विशेषः गरि ग्रामीण क्षेत्रको शैक्षिक सुधारका लागि संस्थाले काम गरिरहेको युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपालका अध्यक्ष खेमराज खड्काले बताए । उनले खाँदबारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।
उनी भन्छन—‘विकास र समृद्धि बोलेर मात्र हुदैंन, काम गरेर देखाउनुपर्छ । नेपालमा नै दक्ष जनशक्ति उत्पादन गर्न सकियो भने जुनसुकै ठाउँमा सहज तरिका त्यो मानिस बिक्री हुन्छ । आफ सक्षम सबल बन्छ । त्यसैले ग्रामीण समुदायको सरकारी विद्यालयको सुधार गर्ने हाम्रो लक्ष्य हो, सोही अनुसार काम गरिरहेका छौं ।’
युनाइटेड वल्ड स्कुल्स (युडब्लुएस) नेपालका शिक्षा संयोजक आशिष अधिकारीले हालसम्म संस्थाले ७६ वटा विद्यालयमा ५ सय ९ वटा कक्षाकोठा निर्माण गरिसकेको बताए । जसमा १३ हजार ९ सय २८ विद्यार्थीहरुले फाइदा लिएको बताए ।
उक्त संस्थाले संखुवासभामा ४९ वटा, गुल्मीमा १८ वटा र ताप्लेजुङमा ५ वटा विद्यालयमा लगानी गरेको छ । संखुवासभाका १० मध्ये चिचिला गाउँपालिका बाहेकका ९ पालिकामा कार्यक्रम लागु भएको छ । आगामी बर्षदेखि भोजपर, हुम्ला, धनकुटा र तनहुँमा कार्यक्रम लागु हुने शिक्षा संयोजक अधिकारीको भनाइ छ । ग्रामीण समुदायमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न युडब्लएस र स्थानीय सरकारसँग साझेदारी गरि कार्यक्रम लागु हुने गरेको छ ।
ग्रामीण क्षेत्रका सिमान्तकृत र पछाडि परेका वालवालिकालाई शिक्षाको पहुँचमा ल्याउन संस्थाले काम गर्दै आएको छ । विद्यालयमा विद्यार्थीले विचैमा कक्षा छाडने दरलाई कम गर्न संस्थाले काम गरेको उनीहरुको दावी छ । विद्यार्थीले विचैमा कक्षा छाड्नुको कारण पहिचान गरी रोक्नका लागि विद्यालय अवधारण टोली गठन गरी काम गर्दैआएको बताउँछन् ।
युडब्लुएसले स्थानीय सरकारसँग संम्झौता गरि पाँच वर्षसम्म विद्यालय संचालन गर्न ५०/५० प्रतिशत लगानी गर्दै आएको छ । त्यसपश्चात स्थानीय तहलाई विद्यालयलाई हस्तान्तरण गर्ने गरेको छ । यो संस्थाले आधारभूत तहमा मात्रै काम गर्दै आएको छ । शिक्षाको जग राम्रो बसाउन आफूहरुले आधारभूत तहमा मात्रै लगानी गर्ने गरेको शिक्षा संयोजक अधिकारीले बताए ।
स्थानीय तहमा मागको आधारमा आवश्यकताको पहिचान गरि कार्यक्रमहरु गर्ने गरेको उनीहरुको भनाइ छ ।
एउटा विद्यालयको भवन निर्माणमा गर्न ३५ देखि ४५ लाखसम्मको लगानी गर्ने गरेको र तीन महिना भित्र विद्यालय भवन निर्माण सम्पन्न गर्ने गरेको उनीहरु बताउँछन् । अहिले सम्म हामी काम गरेको विद्यालयहरुको प्रगति हेर्दा निकै धेरै आशावादी रहेको संस्थाको भनाइ छ ।
शनिबार खाँदबारी युडब्लुएस नेपालले सदरमुकाम खाँदबारीमा जिल्लाभित्र कार्यक्रम लागु भएका ९ वटा स्थानीय सरकार प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, नागरिक समाज, सरकारी तथा गैरसकारी कार्यालय प्रमुख तथा प्रतिनिधीहरु, पत्रकारहरु लगायतका सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा ग्रामीण क्षेत्रको शैक्षिक अवस्था परिवर्तन र सुधार गरि गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्नका लागि कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।