संखुवासभा । संखुवासभामा मानव अधिकार उलङघनका घटना वृद्धि भएको पाइएको छ । ५० वटा घटनामा ५१ जना पीडित भएको आइतबार खाँदबारीमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।
नेपाल मानवअधिकार बर्ष पुस्तक २०२४ का लागि सन् २०२३ का घटनाहरु सार्वजनिक गर्दै सरोकारवाला वीच प्रतिकृया लिइएको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लामा एक वर्षको अवधिमा ५० वटा मानवअधिकार उलङघनका घटनामा ५० जना पीडित बनेको सार्वजनिक गरेको हो । गत साउन २४ गते जिल्ला कारागार खाँदबारी भित्रै प्रहरीको कुटपिटबाट दुई कैदी हत्या हुनु गम्भीर मानवअधिकार उलङघनका घटना भएको इन्सेकको ठहर छ ।
अघिल्लो वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ११ बालिका सहित १६ जना बलात्कृत, घरेलु हिंसाका २४, हत्या ५ वटा, कुटपिट गैरराज्य पक्ष ३ जना, राज्य पक्ष १ जना पीडित भएको पाइएको इन्सेक संखुवासभा प्रतिनिधि भविन कार्कीले जानकारी दिए । उनको अनुसार, गतबर्ष ४६ वटा मानवअधिकार उलङघनका घटना भएकोमा अहिले बढेर ५० वटा पुगेको प्रतिवेदन सार्वजनिक हो ।
पछिल्लो समय महिला तथा बालबालिकाको अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले राज्यको कठोर कानुन हुदाँ पनि हत्या, बलात्कार जस्ता मानव अधिकार उलङघनका घटना कमी नदेखिएको बताए । उनले छिमेकी चिनजान र नजिकका आफन्तबाट यस्ता घटना हुनु दुःखद भएको बताउर्दै जनचेतनामुलक कार्यक्रमहरुलाई तिव्रता दिनुपर्ने बताए ।
स्थानीय तह अन्तर्गत बनेको न्यायमा सहजता होस् भनेर कानुनमा उल्लेख रहेको न्यायिक समितिहरुलाई सक्रिय बनाउनुपर्नेमा जिसस प्रमुख शाक्यले जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले कानूनको पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा मानवअधिकार हनन्का घटनाहरु बृद्धि भएको बताए । मानव अधिकार उलङघनका घटनामा कमी ल्याउन गम्भीर भएर सबै पक्ष लाग्नु पर्ने प्रजिअ कार्कीले आग्रह गरे ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी धनश्याम श्रेष्ठले स्थानीय तहको न्यायिक समितिमा छलफल तथा उजुरी हुनुपर्ने भएपनि पीडितहरु उजुरीका लागि प्रहरी कार्यालय नै आउने गरेको बताए । उनले प्रहरी प्रतिको विश्वसनीयताका कारण पीडितहरु प्रहरी कार्यालय नै आउने गरेको बताउर्दै सम्बन्धित स्थानीय निकायमा नै छलफल गराउन सके प्रहरी काँहा आउने उजुरी घटने र न्यायमा स्थानीयको सहज पहुँच पुग्ने बताए ।
उक्त वार्षिक समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले सरोकारवाला निकायको सुझावलाई समेटेर लैजानु पर्ने धारणा राखे ।
प्रहरी प्रशासन, स्थानीय तहसँग सहकार्य गरेर थप प्रभावकारी कार्यक्रम बनाउन समेत सरोकारवालाहरुले सुझाव दिएका थिए । कार्यक्रममा सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी संघ संस्था र पत्रकारहरुको सहभागीता रहेको थियो ।