- नवीन गुरुङ
संखुवासभा । पूर्वको प्रसिद्ध संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित अरुणनदि किनारमा रहेको मनकामनाधाममा २० करोडको लागतमा मनकामनामाताको ‘ठूलो मन्दिर’ निर्माण हुने भएको छ।
निजी क्षेत्रको लागत साझेदारीमा मनकामनाधाममा मनकामना माताको विशाल मन्दिर निर्माण गर्न लागिएको हो । मन्दिर क्षेत्रको खाली रहेको १० रोपनी जग्गामा मनकामनामाताको मन्दिर निर्माण गरिने तयारीमा जुटेको छ । खाँदबारीका स्थानीय तथा हाल अमेरिकामा बस्र्दै आएका युवा ब्यावसायी तथा समाजसेवी सुजनकुमार श्रेष्ठको अगुवाईमा मनकामनाधाममा विशाल मनकामना माताको ठूलो मन्दिर निर्माण गर्न लागिएको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए । उनले सुजनकुमार श्रेष्ठ नेतृत्वको समितिलाई निर्माण समितिको जिम्मेवारी दिइएको बताए ।
समृद्ध नगर बनाउनका लागि विभिन्न संघसंस्था र दाताहरुसँग समन्वय गर्ने क्रममा युवा समाजसेवी श्रेष्ठले मन्दिर निर्माण गर्ने इच्छा ब्यक्त गरेकाले डिजाइन स्टामिट सहित मन्दिर निर्माण गर्ने कार्यदेश दिइएको मेयर थपलियाले स्पष्ट पारे । उनले दाताहरुले विभिन्न माध्यमबाट देशविदेशबाट रकम संकलन गरेर मन्दिर निर्माण गर्ने जिम्मेवारी दिएको बताए ।
स्वर्गीय खेमराज गुरुङले गाएको ‘एकादशी बजारैमा, फन्के रोटीमा थालैमा, वारी जमुना, पारी जमुना..’ बोलको गीतबाट देशविदेश सम्म मनकामनाधामको प्रचारप्रसार भएपनि अझै धरै पर्यटकहरु भित्राउन भौतिक संरचनाको निर्माण सहित मनकामनाधामको बृहत्तर विकास गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ ।
नवगठित समितिले गत शुक्रबार मनकामना मन्दिर क्षेत्रमा समयभित्र काम सम्पन्न गर्ने ‘संकल्प’ समेत गरेका थिए । सरोकारवालाहरु सहितको पहिलो बैठक मन्दिर परिसरमा नै बसेको थियो । उक्त बैठकमा भेला भएका सरोकारवाला, स्थानीय अग्रज, बुद्धिजिवीहरुले धार्मिक तीर्थस्थलमा स्वच्छ छविले काम गर्न अनुरोध गरेका थिए । समितिका पदाधिकारीहरुलाई मनकामना मन्दिरका गुरुले मन्दिर अगाडी ‘संकल्प’ गर्दै समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
समितिका संयोजक सुजनकुमार श्रेष्ठले खाँदबारी नगरपालिकालाई धन्यवाद दिदैं आगामी ०८३ साल चैत्र मसान्त भित्र मन्दिर निर्माण सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गर्ने बताए । उनले देशविदेश विभिन्न ठाउँहरुबाट रकम संकलन गरेर निजी क्षेत्रको लगानीमा मन्दिर निर्माण गरिने बताए।
आफूहरुलाई दिइएको समयसिमा भित्र काम सम्पन्न गरेर खाँदबारी नगरपालिकालाई हस्तान्तरण गर्ने समाजसेवी श्रेष्ठको भनाइ छ ।
‘हिमवत खण्डको किराँती क्षेत्रको यो मनकामनाधाम सबैभन्दा पवित्र क्षेत्र हो । परापूर्वकाल देखि नै यो क्षेत्र पितृतर्पणका कर्महरु हुन्थे, भगीरथले गंगालाई पृथ्वीमा अवतरण गरेको पवित्र स्थान शिवधारा हो, सोही शिवधाराको पानी वरुणमा मिसिएर अरुण नदी हुदैं यो मनकामनामाताको धाम आउने हो, त्यही भएर यहाँ पितृतर्पणको स्थल बनाउनपर्छ, त्यसो लाखौं पर्यटकहरु आउने माध्यम बनाउन सकिन्छ । त्यसले समृद्ध नगरको नारालाई केही सम्म पूरा गर्नेछ । आफू नेतृत्व रहेको समितिलाई १० रोपनी जग्गामा मन्दिर निर्माणको मात्रै नगरपालिकाले जिम्मेवारी दिएको र करिब २० करोड रुपैयाको लागत मन्दिर निर्माणको मात्रै काम हुन्छ । मनकामनाधाममा मनकामना माताको विशाल मन्दिर निर्माण गछौं, मन्दिर सम्म पुग्ने बाटो घाटो, विद्युत्तीकरण लगायतको काममा तीनै तहको सरकारको सहयोग रहन्छ तर मन्दिर निर्माण चाँही हामी निजी क्षेत्रको लगानीमा नै गछौं ।’—श्रेष्ठले भने—‘बीचमा मनकामना माताको विशाल मन्दिर रहन्छ, वरिपरि चौसठ्ठी योगनी हुन्छन् । गोत्रहरु हुनेछन् । गेटमा गणेश र भैरवको मूर्ति रहन्छ । माता मनकामनामा काला र कालरात्रीको समेत पूजा हुने भएकाले मन्दिर निर्माण हुनेछ ।’
समाजसेवी श्रेष्ठले मनकामनाधाम ६/७ बर्ष अगाडी देखि नै मन्दिर निर्माण गर्न खोजेको तर अहिले आएर जिम्मेवारी पाएको बताए । उनले जीवनमा केही उदाहरणीय काम गर्नका लागि नै मनकामनाधाममा मन्दिर निर्माण गर्न लागेको बताए । यो क्षेत्रमा धार्मिक गन्तब्य बनेमा लाखौ पर्यटकहरुको आवागमन बढने र यो क्षेत्रको आर्थिक हिसाबले समेत फाइदा लिन सकिने बताए ।
उक्त बैठकमा खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, पूर्वमेयर मुरारीप्रसाद खतिवडा, पूर्वजिल्ला सभापति तथा खाँदबारी नगरपालिकाका पूर्वमेयर समेत रहेका अग्रज पदमकेशर कार्की र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पूर्वको प्रसिद्ध मन्दिर मनकामनाधामको बारेमा चर्चा गर्दै विगतमा पनि खाँदबारी नगरपालिकाले मनकामना क्षेत्रको विकास गर्न लागि परेको बताए । उनीहरुले मनकामनाधामको विकास गरौं भनेर नै मनकामनाधामको नाममा रहेको सबै जग्गा खोजेर डिपिआर अनुसार नै काम गर्न अनुरोध गरे ।
उक्त बैठकमा सहभागीहरुले अरुण नदि तथा अरुण उपत्यका समग्र विकासका लागि मनकामनाधामको विकास हुनुपर्नेमा जोड दिएका थिए । मन्दिर निर्माण गर्दा आधुनिकता भन्दा पनि सयौं वर्ष पुराना मौलिकता र कलासंस्कृतिलाई संरक्षण गर्दै धार्मिक आस्था नमर्ने खालको बनाउनु पर्नेमा सुझाव दिएका थिए ।
को–को छन् समितिमा ?
खाँदबारी नगरपालिकाको गत ०८० फागुन ११ गतेको नगर कार्यपालिकाको बैठकले मनकामनाधाममा मन्दिर निर्माण गर्नका लागि समाजसेवी सुजनकुमार श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समितिलाई जिम्मेवारी दिइएको छ । मनकामना क्षेत्रमा मन्दिर निर्माण गर्न ‘मनकामनाधाममा मनकामना देवीको मन्दिर निर्माण समितिको विधान–२०८०’ बनाएर ११ सदस्यीय समिति मनोनयन गरिएको खाँदबारी नगरपालिकाले जनाएको छ । विधान अनुसार सो समितिको समयअवधी चार बर्षे कार्यकाल रहनेछ । समितिको संयोजकमा सुजनकुमार श्रेष्ठ र सदस्यहरु भीम कार्की, देवेन्द्र घिमिरे, सुमन शाक्य, भरत घिमिरे, विमलराज गौतम, सुवर्ण शाक्य, बबिता कटुवाल, निरञ्जन श्रेष्ठ, इन्द्र गिरी र सदस्य सचिवमा दिनेश कट्टेल रहेका छन् ।
भिडियो लिंक......
https://www.youtube.com/watch?v=EJATeEFxtKQ&t=28s