संखुवासभा । नेपाल शेर्पा संघ जिल्ला समन्वय समिति संखुवासभाको ६ औं जिल्ला भेला तथा रुपान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
‘सम्पूर्ण शेर्पाको चाहना, पहिचान र अधिकार सहित शेर्पालुङको स्थापना’ भन्ने नारा सहित शनिबार खाँदबारीस्थित एक रिर्सोटमा नेपाल शेर्पा संघ जिल्ला समन्वय समिति संखुवासभाको ६ औं जिल्ला भेला तथा रुपान्तरण कार्यक्रम सम्पन्न भएको हो । नेपाल शेर्पा संघको केन्द्रीय सदस्य निमा ठिले शेर्पाको प्रमुख आतिथ्यता र बिशिष्ट अतिथीहरु जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य र खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय सदस्य निमा ठिले शेर्पाले शेर्पा संघको जातिय अधिकार र पहिचानको मुद्धा बोकेर अघि बढेको बताउर्दै सबै एकढिका भएर अघि बढनुपर्ने बताए । उनले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले शेर्पा जातिको बेग्लै भाषा, लिपी, धर्म र संस्कार संस्कृति रहेको र त्यसको संरक्षण, हकअधिकार स्थापित गर्न लागि रहेको बताए ।

नेपाल शेर्पा संघ संखुवासभाका अध्यक्ष मिगूर शेर्पाले संघीय संरचना अनुसार नेपाल शेर्पा संघको केन्द्रीय विधान संशोधन भएकाले संघीय संरचना अनुसार स्थानीय तह र जिल्ला तहसम्म बिस्तार गरिएको बताए । उनले केन्द्रीय र प्रादेशिक महाधिबेसन नजिकिदै गएकाले सोही जिल्ला समन्वय समिति बिस्तार गरिएको स्पष्ट पारे । ‘पुरानै जिल्ला स्तरका समितिलाई समन्वय समिति भनेर नाम मात्रै परिवर्तन गरिएको हो । विधान अनुसार स्थानीय तह र जिल्लास्तरमा समिति संशोधन गरिएको हो ।’—अध्यक्ष शेर्पाले भने ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले नेपाल अनेकतामा एकता भएकाले बेग्लै पहिचान रहेको बताए । उनले यो मुलुकमा १ सय २३ भाषा बोल्ने भाषाभाषीहरु रहेको बताउर्दै सबै जातजातिहरु एकआपसमा मिलेर बसेकाले सुन्दर फुलबारी नेपाल भएको बताए । सबै जातजातिहरुलाई आफ्नो जातिय हकअधिकारको लागि संस्था खोलेर एकताबद्ध भई काम गर्न पाउने संविधानमा लेखिएको हुदाँ सोही अनुसार काम गरिरहेको उनको भनाइ छ ।
त्यसैगरि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले शेर्पा समुदायले आफ्नो भाषा, लिपी र संस्कार संस्कृति संरक्षणको लागि रहनु अत्यन्तै राम्रो काम काम भएको बताए । उनले शेर्पा संघको भवन निर्माणका लागि खाँदबारी नगरपालिकाले १० लाख रुपैया सहयोग गरेको मेयर थपलियाले बताए । खाँदबारी नगरपालिकाले सबै जातजातिहरुलाई सकेसम्म मिलाएर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै शेर्पा संघलाई लामा उत्पादनको लागि सहयोग गर्ने मेयर थपलियाको भनाइ थियो ।

कार्यक्रमका शेर्पा समुदाय निर्वाचीत जनप्रतिनिधीहरु चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पा र मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले संस्थाको मायाँ गरेर सबै लाग्नुपर्ने धारणा राखेका थिए । जिल्ला समितिले गाउँ–गाउँमा पुगेर शेर्पा समुदायको अवस्था, हकअधिकार लगायतका बारेमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा शेर्पा समुदायबाट निर्वाचीत जिल्लाभरका जनप्रतिनिधीहरु, शेर्पा संघमा आबद्ध स्थानीय तह र जिल्ला तहका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा हिमालयन साँस्कृतिक कला केन्द्र कलाकारहरु शेर्पा भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए । शेर्पा संघको विधान अनुसार ३ बर्षे कार्यकाल हुने गर्दछ । गतबर्ष मात्रै मिगूर शेर्पाको अध्यक्षतामा जिल्ला समिति निर्वाचीत भएको थियो ।

