- नवीन गुरुङ
संखुवासभा । संयुक्त राज्यअमेरिकाको कोलोराडो स्थित बोल्डोर सिटीका मेयर दम्पत्ति संखुवासभा भ्रमणमा आएका छन् ।
शनिबार बोल्डोर सिटीका मेयर आरन ब्रोकेट र उनको श्रीमती चेरी ब्रोकेट संखुवासभा आएका हुन् । उनीहरुलाई खाँदबारी नगरपालिकाले तुम्लिङटार विमानस्थलमा भब्य स्वागत गरेका थिए । पञ्चकन्या सहित पञ्चेबाजा र लाखेनाच सहित तुम्लिङटार र खाँदबारीको नगरपरिक्रमा गरि नगरको सभाहलमा पु-याइएको थियो ।
नगरपालिकामा आयोजित कार्यक्रममा खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बोल्डोर सिटीका मेयर ब्रोकेटलाई मायाँको चिनो प्रदान गरेका थिए । मेयर थपलियाले मेयर ब्रोकेट दम्पत्तिलाई स्वागत गर्दै खाँदबारी नगरपालिकाको बस्तुस्थिती र परिचय दिदैं दुई नगरपालिका बीच सम्बन्ध बिस्तार भएकोमा खुशी ब्यक्त गरे ।
त्यसैगरि बोल्डोर सिटीका मेयर ब्रोकेटले खाँदबारी नगरपालिका अत्यन्तै सुन्दर क्षेत्र रहेको भन्र्दै प्रसंसा गरे । उनले यो सुन्दर क्षेत्रका मानिसहरुसँग सम्बन्ध बिस्तार भएकोमा खुशी ब्यक्त गर्दै बोल्डर सिटी भ्रमणका निम्ति आउन समेत अनुरोध गरे ।
बोल्डर सिटीका मेयर ब्रोकेट खाँदबारी भ्रमणमा आउन समाजसेवी नारायण श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै पुलका काम गरेका थिए । कार्यक्रममा समाजसेवी नारायण श्रेष्ठले खाँदबारी नगरपालिकाको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मेयर दम्पत्तिको स्वागतमा तुम्लिङटारमा खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की, वडाध्यक्षहरु १ नम्बरका निरन्ज श्रेष्ठ, ७ नम्बरका देवबहादुर पुवाँर मगर, नगरपालिकाका शाखा प्रमुखहरु दिनेश कटटेल, खेमराज निरौला, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्थानीय तथा पत्रकारहरु पुगेका थिए ।
गतबर्ष पनि सुपेरियर सिटीका मेयर क्लिन्ट फोल्सम खाँदबारी नगरपालिका भ्रमणका लागि आएका थिए । त्यसभन्दा अगाडी खाँदबारी नगरपालिका मेयर मेहश थपलिया र उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य लगायतको टोली अमेरिका भ्रमण गएर फर्किएका थिए ।
मेयर ब्रोकेट दम्पत्ति तीन दिन संखुवासभाको सदरमुकाम खाँदबारी र चैनपुर लगायतका पर्यटकीय क्षेत्रहरुको भ्रमण र अवलोकन गर्नेछन् ।
भिडियो लिंक....
https://www.youtube.com/watch?v=jcVK_bWPR0Q