संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा अरुण नदीको तटीय क्षेत्रमा रहेका १७ वटा घर जोखिममा परेका छन् ।
लगातारको वर्षाले भोटखोला गाउँपालिका–५ कपासेमा रहेको १७ वटा घर र बाल केन्द्र विद्यालय जोखिममा परेको हो । बाढीले माटो कटान गर्न थालेपछि अरुण नदीको तटीय क्षेत्रमा रहेका ती घरहरू बाढीको जोखिममा परेको स्थानीय सञ्जय खालिङ राईले बताए । नदीले कटान गर्न थालेपछि स्थानीय उत्तरबहादुर राईको घरका सामान सुरक्षित ठाउँमा सारिएको छ ।
भोटखोला गाउँपालिका–४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला–५ कपासे गाउँ बाढीको जोखिममा परेको हो । भोटखोलाको ४ र ५ नम्बर वडा अरुण नदीले छुट्टाएको छ । बाढीले माटो कटान गर्दा वारपार गर्ने झोलुङ्गे पुलसमेत जोखिममा परेको छ । भोटखोला–५ को तुङखालिङ, कपासे हुँदै गोलाबजार निस्कने मुख्य बाटो त्यही झोलुङ्गे पुल हो ।
गोला प्रहरी चौकीबाट प्रहरी टोली गई जोखिममा रहेका स्थानीयलाई सुरक्षित ठाउँमा रहन आग्रह गरेको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र गोदारले बताए । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले दुई दिनदेखि परेको पानीले भोटखोला–५ को कपासे, वारिपट्टि गोलाबजारका स्थानीय र भोटखोला गाउँपालिकाको जोखिमयुक्त ठाउँहरूमा यात्रा नगर्न र सचेत रहन आग्रह गरिएको बताए
निरन्तर वर्षा भइरहेको हुँदा अरुण नदीको तटीय क्षेत्रहरूमा पानीको सतह बढ्दा खतरा हुने भएकाले सतर्क रहन भोटखोला गाउँपालिकाले आग्रह गरेको छ ।