- नविनकला जैरु/नुम
संखुवासभा । जिल्लाको मकालु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सिंहेश्वरी माध्यमिक विद्यालय नुमले जितेको छ ।
माघ ९ देखि ११ गते सम्म संचालन भएको मकालु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सिंहेश्वरीले जितेको हो । सिंहेश्वरी माविले १० स्वर्ण, १० रजत र १० कास्य गरि जम्मा ३० पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । त्यसैगरि मकालु–२ सेदुवाको हेमाद्रि माध्यमिक विद्यालयले ९ स्वर्ण, १० रजत र ८ कास्य गरि जम्मा २७ पदक गरि दोस्रो स्थान हासिल गरेका थिए भने हिमालय माध्यमिक विद्यालय हेदाङ्नाले ९ स्वर्ण, ८ रजत र १० कास्य गरि २७ पदक सहित तेस्रो स्थान प्राप्त गरेको गाउँपालिकाका शिक्षा संयोजक पुष्पबहादुर तामाङले बताए ।
मकालु गाउँपालिका वडा नं. २ वडा अध्यक्ष छोपाल शेर्पा, शिक्षा संयोजक पुष्पबहादुर तामाङ, र हेमाद्रि मावि विद्यालय व्यबस्थापन समितिका अध्यक्ष खड्कबहादुर पराजुली लगायतले विजयी खेलाडीहरुलाई बधाइका साथ कप, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
पाचौँ स्थानीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगितामा जम्मा ३४ वटा खेलहरुमा प्रतिस्पर्धा गराइएको थियो । जसमा भलिबल, कबड्डी, ज्याबलिङ थ्रो, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, उसु, कराँते र विभिन्न दुरीको दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगिता हेमाद्रि माध्यमिक विद्यालयले आयोजना गरेको थियो । कार्यक्रम संचालन गर्न मकालु गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।
बधाई तथा शुभकामना सम्पुर्ण खेलाडी भाइ-बैनीहरु लगायत बिधालय परिवारलाई ।