संखुवासभा । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको सातौं जिल्ला अधिबेसन तथा १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मंगलबार सदरमुकाम खाँदबारीमा एक भब्य समारोहमा अधिबेसन सम्पन्न भएको छ । अधिबेसनका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एकबल अहमदले वर्तमान अवस्थामा मिडिया संकटमा परेको भन्दै जोगाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । उनले धरासयी बनेका मिडिया हाउसहरु जोगाउन स्थानीय तह देखि प्रदेश र संघ सरकार सम्मको दायित्व भएकाले पत्रकारहरु सोही अनुसार लाग्नुपर्ने धारणा राखेका थिए । ‘मुलक संघीयतातर्फ गएपछि संघीयता ल्याउन नेपाली पत्रकारहरु एकजुट बनेर सडकमा गएको हो, त्यसैको जगमा रहेर यो मुलुकमा पुनः संरचना भयो । नेपाली मिडिया र पत्रकारहरुकै बलमा स्थानीय निकाय, प्रदेश, केन्द्र बनेपनि संघीयता लागुभएपछि नेपाली सञ्चार माध्यम झन संकटमा परेको छ । अव तीनै तहका सरकारले मिडिया जोगाउन भूमिका खेल्नुपर्छ ।’-अहमदले भने ।
त्यसैगरि कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य सुरेन्द्र भण्डारीले स्थानीय सरकारले सञ्चार नीति अनिवार्य गरिनुपर्ने धारणा राखेका थिए । उनले नेपाल पत्रकार महासंघले मिडिया र मिडियाकर्मीको हकहितका काम गर्न कम्तीमा पनि हरेक पालिकामा सञ्चार नीति अनिवार्य गराउन सक्छ । यसका लागि अहिले कोशी प्रदेशका धेरै जिल्ला महासंघले स्थानीय सरकारलाई सञ्चार नीति अनिवार्य गर्न भनेका छन् र धेरै ठाउँ यसप्रकारको काम भएको बताए ।
उक्त अधिबेसनमा प्रेस सेन्टर नेपालका जिल्ला सचिब भविन कार्की, प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रेम निरौला, नेपाल प्रेस युनियनका अध्यक्ष दिपेन्द्र शाक्य, अग्रज पत्रकार जीवनाथ खनाल, संस्थापक अध्यक्ष डा.मातृकाप्रसाद तिम्सिना, पूर्वअध्यक्ष श्यामप्रसाद निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अधिबेसनमा सचिव मेघराज तामाङले संस्थाको साँगठानिक प्रतिवेदन र कोषाध्यक्ष अनिश बिष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा केन्द्र र प्रदेश प्रतिनिधीका साथै नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य प्रमोद यादव, पत्रकार महासंघ संखुवासभा शाखाका संस्थापक अध्यक्ष डा.मातृकाप्रसाद तिम्सिना, पूर्वअध्यक्ष श्यामप्रसाद निरौला, अग्रज पत्रकार तथा अक्षयकोषदाता बलराम थापा, अग्रज पत्रकार जीवनाथ खनाल, रिपोर्टस क्लब नेपालका केन्द्रीय महासचिब शशी कोइराला, रिपोटर्स क्लव सुनसरीका सचिब मुस्ताफ आलम, नेपाल प्रेस युनियन संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्य, प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रेम निरौला, प्रेस सेन्टर नेपालका जिल्ला सचिब भविन कार्की, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संखुवासभाका अध्यक्ष नवीन गुरुङ, राष्ट्रिय फोटो पत्रकार समुह नेपाल संखुवासभाका प्रतिनिधि बिपिन श्रेष्ठ, अग्रज पत्रकार दिव्यराज बराल लगायत पत्रकार महासंघ जिल्ला शाखाका पदाधिकारी, साधारण सदस्य, प्रदेश परिषद सदस्य, केन्द्रीय परिषद सदस्यहरुको उपस्थित रहेको थियो ।
नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्रकुमार गिरीको सभापतित्वमा भएको कार्यक्रम सचिव मेघराज तामाङले संचालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष कृष्णराज शाक्यले गरेका थिए । केन्द्र र कोशी प्रदेशबाट आएका प्रतिनिधी तथा अतिथी पाहुनाहरुलाई पत्रकार महासंघ संखुवासभा शाखाको तर्फबाट मायाको चिनो हस्तान्तरण गरेका थिए । अधिबेसनका अन्त्य गर्दै महासंघका अध्यक्ष इन्द्र गिरीले सबैलाई धन्यवाद दिएका थिए ।