संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा नवौं संस्करणको अरुणभ्याल्ली फुटबल प्रतियोगिता बुधबार देखि शुरु भएको छ ।
‘सामाजिक सद्भावका लागि युवा एकता—विकृति : विसंगतिका विरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिबद्धता’ भन्ने मुलनारा सहित एडभान्स क्लबले प्रतियोगिताको आयोजना गरेको हो । एक भब्य समारोह बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथी थपलियाले संखुवासभामा खेलकुदको पर्याय एडभान्स क्लब बनेको बताउर्दै प्रतियोगितालाई सभ्य र भब्य ढंगले सम्पन्न गर्न अनुरोध गरे । उनले खाँदबारी नगरपालिका सद्धैव खेल क्षेत्रको विकासमा लागि परेको बताउर्दै ब्याबसायिक खेलाडी उत्पादन गर्नमा जोड दिए ।

०५० सालमा स्थापना भएको क्लबले विभिन्न प्रतियोगिता हुदैं ०६४ सालदेखि अरुणभ्याल्ली रनिङ शिल्ड फुटबल प्रतियोगिता बर्सेनि दशैं र तिहारको बीचमा गर्दै आएको छ । फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीहरुको ब्याबसायीकरण गर्ने उद्धेश्यले मानेभञ्ज्याङ्गमा बर्सेनि फुटबल प्रतियोगिता संचालन गर्दै आएको जिल्ला फुटबल संघका अध्यक्ष तथा खाँदबारी ३ नम्बर वडाका वडाध्यक्ष भरतकुमार घिमिरेले बताए ।
प्रतियोगिताको पहिलो दिन दुई वटा खेल सम्पन्न भएको छ । पहिलो खेल सेकाहा क्लब र खाँदबारी युथ क्लब बीच प्रतिस्पर्धा भएको थियो । सेकाहा क्लबले ३—२ गोल गर्दै खाँदबारी युथ क्लबलाई हराए । खेल शुरु भएको ६ औं मिनेटमा खाँदबारी युथ क्लबका ७ नम्बरका खेलाडी योगेश बम्जनले गोल गरेर क्लबलाई अग्ररता दिलाएका थिए भने त्यसपछि पुनः खाँदबारीले ११ औं मिनेटमा ११ नम्बरका खेलाडी अनिश राईले थप गोल गर्दै २ गोल बनाएका थिए । त्यसपछि १५ औं मिनेटमा सेकाहा क्लबका १२ नम्बरका खेलाडी विमल गुरुङले १ गोल फर्काए भने ३१ औं मिनेटमा सेकाहाका अदित राईले १ गोल थप गरि २—२ बराबर बनाए । हाफटाइमपछि सेकाहा क्लबका विमल गुरुङले १ गर्दै क्लबलाई विजयी बनाए ।
त्यसैगरि दोस्रो खेल सभापोखरी क्लब र तीनपोखरी क्लब बीच प्रतिस्पर्धा भएको थियो । सभापोखरीले ६–० गोल गर्दै जीत हासिल गरेको छ । खेलअवधीभर तीनपोखरी क्लबले एकै गोल पनि फर्काउन सकेनन् । तीनपोखरीले एक गोल आत्मघाती गरेका थिए ।
प्रतियोगितामा जिल्लाभित्रका ख्यातीप्राप्त ९ वटा टिम र बाहिर जिल्लाका ३ टिम गरि १२ टिमले प्रतिस्पर्धा गर्ने आयोजक एडभान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । जिल्लाभित्रका आयोजक एडभान्स, खाँदबारी युथ क्लब, लोहोरुङ क्लब, सेकाहा क्लब, पञ्चकन्या क्लब, तीनपोखरी क्लब, मकालु फ्रेन्डस क्लब, सभापोखरी क्लब, गाउँले फुटबल क्लब गरि ९ वटा रहेका छन् भने जिल्ला बाहिरका पाथीभरा क्लब सुनसरी, चुलाचुली क्लब धनकुटा र बेलबारी फुटबल क्लब मोरङ्गका रहेका छन् ।
प्रतियोगिताका बिजेताले नगद रु. २ लाख, टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. १ लाख, टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि सेमिफाइनलिष्ट दुई टिमले नगद २५/२५ हजार रुपैया प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५/५ हजार रुपैया प्राप्त गर्नेछन् ।
आयोजकले विगतका बर्षदेखि प्रतियोगिता हेर्न टिकट काटेर हेर्न पाइने ब्यबस्थापन गरेको छ । बुधबार देखि शुरु भएको प्रतियोगिता १२ गते समापन हुनेछ ।
तलको भिडियो लिंक पनि खोलेर हेर्नुहोस.....
https://www.youtube.com/watch?v=21hq-c7GZmg&t=25s
https://www.youtube.com/watch?v=5sTXDBweZU8&t=8s