संखुवासभा । पछिल्लो समय सामुदायिक विद्यालयका शिक्षक र ब्यबस्थापन समितिलाई विद्यालयको शैक्षिक गुणस्तर खस्केको चौतर्फी आरोप लाग्ने गरेको छ । त्यसमाथि सामुदायिक विद्यालयमा विद्यार्थीको भर्नादर न्यून र विद्यार्थीहरु बीचैमा कक्षा छाडेर निजी विद्यालय जाने लहडले सामुदायिक विद्यालय संचालन गर्न धौ–धौ परेको छ । सामुदायिक विद्यालयलाई सधै लाग्ने गरेको आरोप भनेको–‘शैक्षिक गुणस्तर’ भएन भन्ने हो ।
यस्तैमा संखुवासभाको उत्तरीक्षेत्र भोटखोला गाउँपालिका–४ गोलाका कृष्ण माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि गाउँ–गाउँ पुगेर ‘अभिभावक भेटघाट तथा घरदैलो अभियान’ संचालन गरिरहेको छ । गत १४ कात्तिकबाट शुरु भएको घरदैलो अभियान २० कात्तिक सम्म एकसाता संचालन हुने कृष्ण माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज गुरुङले बताए । उनले विशेष गरेर कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको घर–घरमा पुगेर अभिभावकहरुसँग अन्तरक्र्रिया गरिरहेको बताए । भोटखोलाको भौगोलिक अवस्था कठिन र पातलो टाढा–टाढा गाउँ रहेको छ । तैपनि विद्यालयका बिषयगत शिक्षक शिक्षिका, प्रधानाध्यापक, शिक्षक अभिभावक संघ र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गुरुङ आफै कम्मर कसेर लागि परेका छन् । उनीहरुले भोटखोला–४ का स्याक्सिला, तुङखालिङ, कपासे, लिङ्गाम र भोटखोला–३ का हटिया लगायतका गाउँका अभिभावकहरुसँग अन्तरक्र्रिया गरिसकेका छन् भने अझै केही गाउँका अभिभावकसँग अन्तरक्र्रिया गर्न घरदैलो अभियान संचालन भइरहेको विब्यस अध्यक्षको गुरुङको भनाइ छ ।
विद्यालयमा अभिभावकहरुलाई बोलाएर आफ्नो बालबालिकाको पढाई अवस्था र अब कसरी अगाडी बढाउने भनेर विभिन्न समयमा पटक–पटक छलफल राख्दा अभिभावकहरुको उपस्थिती न्यून हुने भएकाले यसपटक विद्यार्थीको घर–घरमा नै पुगेर अभिभावकहरुसँग अन्तरक्र्रिया गरिएको विब्यस अध्यक्ष गुरुङ बताउँछन् । भोटखोला त्यतिकै दुरदराज र विकट क्षेत्र भएकाले विद्यार्थीका अभिभावकहरु समेत छोराछोरीलाई विद्यालय पठाए भईहाल्छ नी भनेर सोच्ने भएकाले अलि जिम्मेवार बनाउन घरदैलो अभियान संचालन गरेको गुरुङले बताए । ‘भोटखोलाका मानिसहरु अधिकाँसले मुआब्जा पाउनुभएको छ, अलैंचीबाट पनि आम्दानी छ तर पैसा भएर पनि शिक्षामा लगानी गर्न नजान्दा पिछडिएको महसुस भएकाले घरदैलो अभियान संचालन गरिएको हो । अव आफ्ना छोराछोरीको पढाई बारेमा अलि चिन्तित भएर जिम्मेवार बन्न अनुरोध गरेका छौं, शिक्षामा लगानी भोलीको सुन्दर भविष्य हो भनेर अभिभावकलाई सम्झाउदैछौ, विद्यालयमा शिक्षकले पढाएर मात्रै हुदैन, घरमा बाबुआमाले पनि छोराछोरीको पढाईमा सहयोग गर्नुपर्छ भन्ने विद्यालयको उद्धेश्य हो ।’–अध्यक्ष गुरुङले भने–‘विद्यार्थीको पहिलो गुरु घरका बुवाआमा नै भएकाले आफना बालबालिकाको पढाई अवस्था बुझन र घरमा पढने वातावरण बनाउन अभिभावकसँग अनुरोध गरिरहेका छौं ।’

गाउँ–गाउँमा घरदैलो अभियानपछि विद्यालयमा अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, संघसंस्था लगायत सम्पुर्ण सरोकारवाला र जनप्रतिनिधीहरु सबैलाई बोलाएर शैक्षिक गुणस्तर बृद्धि गर्न के–के गर्नपर्छ भनेर अन्तरक्र्रिया गर्ने तयारीमा रहेको विद्यालयको प्रधानाध्यापक मिङतेम्बा शेर्पाले बताए । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न हरतरह र जोडबल गरिरहेको उनको भनाइ छ ।
विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न कृष्ण माविले नर्सरी देखि कक्षा दुई सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउदैं आएको छ । आगामी बर्ष कक्षा पाँच सम्म अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने योजना रहेको विद्यालयको भनाइ छ । विद्यालयको आन्तरिक स्रोत बलियो नभएपनि अहिले कक्षा १० का अंग्रेजी शिक्षकलाई निजी स्रोतबाट तलब खुवाइरहेको विद्यालयले जनाएको छ । भविष्यमा कृष्ण माविमा नर्सरी देखि कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुने र जिल्लाको उकृष्ट शैक्षिक गन्तब्य बनाउने लक्ष्यको साथ अघि बढिरहेको अध्यक्ष गुरुङको सपना छ । अव पढाई कमजोर भएका विद्यार्थीहरुलाई विद्यालयले निःशुल्क खान र बस्नको ब्यबस्थापन गरेर पढाउने लक्ष्य रहेको विद्यालयको भनाइ छ । ‘भोटखोलाको कृष्ण माविमा पढेका विद्यार्थीहरु देशको जुनसुकै ठाउँमा पुगेर अध्ययन गर्दा राम्रो अंक ल्याएर उत्तिर्ण हुदाँ हामी गौरव महसुस गछौं, शहर बजारका विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सकोस्, कृष्ण माविमा राम्रो पढाई हुन्छ भनेर सबैलाई चिनाउने सपना छ ।’–गुरुङले भने ।
गुरुङ अध्यक्ष बनेपछि काँचुली फेर्दै कृष्ण मावि :
विगतमा निकै खस्किएको कृष्ण माध्यमिक विद्यालयले काँचुली फेर्दै गएको छ । अहिले विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मनोज गुरुङ आएपछि विद्यालयको गतिविधी समेत फेरिर्दै गएको छ । कृष्ण माविलाई राम्रो विद्यालय बनाउन हरतरहबाट लागि रहेको गुरुङ बताउँछन् ।
उनी आएपछि देशविदेश र विभिन्न दाताहरुबाट सहयोग रकम संकलन गरिक करिब दुई करोड रुपैया बराबरको नगद र जिन्सी सामान विद्यालयमा भित्राएको छ । गत ०८१ साल माघ महिनामा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख आतिथ्यतामा कृष्ण माविले धुमधामसँग ५२ औं बार्षिकोत्सव मनाएको थियो । मन्त्री राईले कृष्ण माविमा हिमाली आवसीय छात्रावास भवनको शिलान्यास गरेका थिए । उक्त भवन करिब न्यूनतम डेढ करोड देखि तीन करोड रुपैयाको हाराहारीमा सम्पन्न हुने जनाएको छ ।
समाजसेवा र ब्यापारब्याबसायमा समेत जमेका युवा गुरुङ विद्यालयको अध्यक्ष बनेपछि निकै ठूलो सपना बोकेर अघि बढिरहेका छन् । वि.सं. २०३० सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले २ सय ९७ जना विद्यार्थीहरु अध्ययनरत छन् भने कक्षा १० मा २५ जना विद्यार्थी रहेको छ । गुरुङ अध्यक्ष बनेपछि गत बर्ष देखि टाढा–टाढाका विद्यार्थीहरुलाई लक्षित गरेर स्कुल बस समेत संचालनमा ल्याएको छ । दुर्गमका विद्यालयमध्ये स्कुल बस संचालन गर्ने कृष्ण मावि नै पहिलो हो ।
उक्त अभियानमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज गुरुङका साथै विद्यालयका प्रधानाध्यापक मिङतेम्बा शेर्पा, सहायक प्रधानाध्यापक सागर शेर्पा, शिक्षक अभिभावक संघका अध्यक्ष सुजनी गुरुङ, विद्यालयमा कार्यरत शिक्षक शिक्षिका, विषयगत शिक्षक शिक्षिका र समितिका पदाधिकारीहरु विशेष गरि अभियानमा सक्रियतापूर्वक लागि रहेको विद्यालयको भनाइ छ ।