विनोद काफले/खराङ
संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१० स्थित खराङ बजारमा आयोजित स्वास्थ्य शिविरमा १ सय ७९ जना लाभान्वित भएका छन् ।
आइतबार आयोजित एकदिने शिविरमा कुल १ सय ७९ जनाले सेवा लिएको खराङ स्वास्थ्य चौकीका प्रमुख योगेश श्रेष्ठले बताए । उनको अनुसार, आँखा सम्बन्धी ६१ जना, स्त्री रोग सम्बन्धी २७ जना र ९१ जना जेनेरल ओपिडी सेवा लिएको हो ।
हेल्पिङ हेन्डस् पोलिक्लिनिक चैनपुरको आयोजना तथा मनकामना अस्पताल तुम्लिङटारको सहयोगमा खराङ स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । बरिष्ठ समाजसेवी नारायण श्रेष्ठको अगुवाईमा निःशुल्क शिविरको आयोजना गरिएको हो ।
उक्त शिविरमा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, आँखा चेकजाँच तथा निःशुल्क चस्मा वितरण, दन्त सेवा तथा निःशुल्क औषधी वितरण, सामान्य स्वास्थ्य जेनेरल ओपिडी सम्बन्धी सेवा प्रदान गरिएको थियोे । स्त्री रोग सम्बन्धी काठमाडौंबाट आएकी डा. कविता अधिकारी, आँखा, कान तथा दाँत र जेनेरल ओपिडी सम्बन्धीको सेवा हेल्पिङ हेन्ड्स र मनकामना अस्पतालका डा. विद्या उदास, डा. बिजु बैद्यले स्वास्थ्य परिक्षण गरेका थिए ।
गाउँमा नै विशेषज्ञ चिकित्सक टोली सहितको शिविर आयोजना भएपछि गाउँलेहरु दंग परेका छन् । आर्थिक रुपमा कमजोर, गरिब, हिड्न नसक्ने बृद्धबृद्धाहरुको लागि शिविर निकै फलदायी बनेका थिए ।