संखुवासभा । संखुवासभा उद्योग वाणिज्य संघको अध्यक्षमा डेगराज बस्नेत निर्विरोध चयन भएका छन् ।
संघको १७ औं साधारणसभा तथा अधिवेसनबाट बस्नेतको अध्यक्षतामा ३८ सदस्यीय समिति चयन भएको छ । मंगलबार सुरु भएको संघको साधारणसभा तथा अधिवेशन बुधबार सम्पन्न भएको हो।
संघमा आंकाक्षीहरु धेरै भएपछि सहमति जुटाउन निर्वाचन प्रकृयामा समय थप गर्दै भएपनि निर्विरोध कार्यसमिति चयन गरिएको थियो । सहमति जुटाउने क्रममा केही पद समेत थप गरिएको छ ।
समितिको बरिष्ठ उपाध्यक्ष सन्जिवकुमार श्रेष्ठ (राजु), उपाध्यक्षहरु जनक पौडेली र राजिव श्रेष्ठ चयन भएका छन् भने महासचिवमा प्रविण श्रेष्ठ र उपमहासचिवमा हिमाल श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक किरणकुमार शाक्यले बताए ।
त्यसैगरी समितिको कोषाध्यक्षमा कविता श्रेष्ठ, सचिवहरु कुमारराज श्रेष्ठ र रविन्द्र खत्री, सहकोषाध्यक्ष मनोज कटुवाल र सहसचिवमा विक्रमरत्न शाक्य चयन भएका छन् । नयाँ समितिको सदस्यमा सदरमुकाम बाहिर भूगोल तर्फबाट सभापोखरी गाउँपालिकाका विकाश तामाङ समेत चयन भएका छन् भने बाँकी सबै सदरमुकाम खाँदबारीका रहेका छन् । नयाँ समितिका पदाधिकारीहरुलाई विहिबार जिल्ला समन्वय समितिको हलमा एक कार्यक्रम विच प्रमाणपत्र वितरण, बधाई तथा शुभकामना दिइएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम निर्वतमान अध्यक्ष कृष्णभगत प्रधानको सभापतित्वमा सम्पन्न भएको हो । संघको १७ औं साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उद्घाटन कार्यक्रममा संघको केन्द्र, कोशी प्रदेशका प्रतिनिधि तथा विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरु, संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, प्रहरी नायव उपरिक्षक (डियसपी)दक्षकुमार बस्नेत, बैकिङ क्षेत्रका ब्यक्तिहरु, कर कार्यालय लगायत जिल्लाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, व्यवसायी ब्यापारीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उद्योग वाणिज्य संघको तीन बर्षे कार्यकाल रहने गर्दछ ।