संखुवासभा । पहिरोको उच्च जोखिममा रहेको मकालु गाउँपालिका–१ चिरखाङबासीको स्थानान्तरणको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको आयोजनामा खाँदबारी नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । पहिरोको उच्च जोखिममा रहेको मकालु गाउँपालिका–१ चिरखाङका १३ घरपरिवारलाई सो ठाउँबाट अन्यत्र स्थानान्तरण गर्नका लागि जिल्लाका सरोकारवालाहरुका बीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षता तथा जिल्ला दैवीप्रकोप उद्धार समिति संखुवासभाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काको प्रमुख आतिथ्यतामा पत्रकार मेघराज तामाङद्वारा निर्मित बृत्तचित्र प्रदर्शनी समेत गरिएको थियो । ‘प्राण रक्षाको खोजीमा चिरखाङ्बासी’ नामक बृत्तचित्र मार्फत उक्त स्थानको भौगोलिक अवस्था त्यहाँ बाढिपहिरोका कारण बर्सेनि स्थानीय बासिन्दाले भोग्नु परेका पीडा र उनीहरुको जीवनशैलीका बारेमा जानकारी दिइएको थियो ।
उक्त कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दीछिरिङ शेर्पा, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, खाँदबारी नगरपालिकाका प्रमुख तथा उपप्रमुख, त्यसक्षेत्रका पहिरो पिडित, जिल्लाका सरोकारवाला कार्यालय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले त्यसक्षेत्रमा पालिकाले गर्दैआएको काम, पहिरो नियन्त्रणको प्रयास र त्यसक्षेत्रका जनताले दैनिक जीवनमा भोग्न परेका समस्याका बारेमा जानकारी गराएका थिए । पालिकाले बजेट बिनियोजन गरेपनि संघीय नीति, नियम र कानुनका कारण उच्च जोखिममा रहेका परिवारहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरणको काम गर्न नसकेको अध्यक्ष शेर्पाले गुनासो गरेका थिए ।
तत्कालीन समयमा मकालु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लवहाङ राईले चिरखाङ गाउँ पहिरो उच्च जोखिममा रहेको बताए । उनले स्थलगत रुपमा अध्ययन गरेको बताउर्दै जतिसक्दो चाँडै स्थानान्तरण गर्न सके चिरखाङबासीको भविष्य सुनिश्चित हुने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका सचिव टकमान घलेले चिरखाङको पहिरो नियन्त्रणका लागि मकालु गाउँपालिका मात्रै नभएर सिंगो जिल्ला, प्रदेश र संघले बिशेष योजना ल्याउन आवश्यक भएको धारणा राख्दै नेपाली कांग्रेसको तर्फबाट सकेको पहलका लागि प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा नेकपा एमालेका प्रतिनिधी झलक बुढाथोकीले कारुणिक र मर्मस्पर्शी दैनिकीबाट चिरखाङ्बासीलाई मुक्त गर्न सबैपक्षबाट उनीहरुको स्थानान्तरणको पहल गरिनुपर्ने धारणा राखेका थिए ।
त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव रमोद श्रेष्ठले चिरखाङबासिन्दाको प्राण रक्षाका लागि एकिकृत बस्ती बिकासमा जोड दिँदै स्थानान्तरणको बहुआयामिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताएका थिए ।
नेकपा माओबादी केन्द्र पार्टी प्रतिनिधी कृष्ण जिमीले कुनै पनि समुदायको स्थानान्तरणको बिषय त्यति सजिलो नभएको बताए । उनले स्थानान्तरणसँगै त्यहाँका रहनसहन, देवीदेवता, थाकथलो सबै स्थानान्तरण गर्न मुस्किल हुने भएकाले त्यही कतै नजिकै स्थानान्तरण गर्नुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधी सिताराम नेपालले जिल्लाको अतिदुर्गम चिरखाङबासिन्दाको कष्टकर जीवनको संबेदनशील बिषयलाई सदरमुकाम खाँदबारीमा सार्थक छलफल गराएकोमा नेपाल पत्रकार महासंघलाई धन्यबाद प्रकट गरे ।
बर्षाैं देखि त्यस क्षेत्रको जनताको दुर्दशा देख्दा–देख्दै कसैबाट पनि ठोस पहल नहुनु दुःखद भएकाले स्थानीय सरकारका रुपमा रहेको मकालु गाउँपालिकाले सबै तहका सरकारसंग आवश्यक समन्वय गर्न ढिला गर्न नहुनेमा रास्वपा प्रतिनिधी नेपाललेबजोड दिएका थिए ।
कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका जिल्ला नेता सिताराम तिम्सिनाले चिरखाङबासिन्दाको समस्या भौगोलिक, आर्थिक र शिक्षा स्वास्थ्यको हिसावले असहज देखिएकाले नागरिकको जीवन शिक्षा स्वास्थ्यको अधिकार रक्षाका लागि पनि सरकारले उनिहरुको उचित ब्यवस्थापनका लागि स्थानान्तरणको ब्यवस्था गर्नूपर्नेमा जोड दिए ।
खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले उच्च जोखिममा रहेका चिरखाङबासीको स्थानान्तरणको प्रकृया बढि जटिल र झन्जटिलो भएकाले सरकारले सहज नीतिगत ब्यवस्था गरि यस्ता जोखिमपुर्ण क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहज नीति बनाउन आवश्यक रहेको थपलियाले बताए ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले मकालु गाउँपालिका १ चिरखाङबासीको सुनिश्चित भविष्यका लागि सरोकारवाला निकायहरु बिच छलफल गरि ठोस निकास निकाल्न जिल्ला बिपद ब्यवस्थापन समितिले आवश्यक पहल गर्ने धारणा राखे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गोपालमान भण्डारी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमचन्द्र कुलुङ्ग, अग्रज पत्रकार जीवनाथ खनाल र डा.मातृकाप्रसाद तिम्सिना लगायतले त्यस क्षेत्रका नागरिकको शिक्षा स्वास्थ्य र जिवीकोपार्जनका लागि सीप र क्षमता अभिबृद्धिका कार्यक्रम अघि सार्न पहल गर्ने धारणा राखेका थिए ।
कार्यक्रमका सभापति तथा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले मकालु गाउँपालिका १ चिरखाङ लगायत जिल्लाका यस्ता जटिल समस्याको समयमै पहिचान र निराकरणका लागि जिल्ल्ला विपद ब्यवस्थापन समिति र स्थानीय सरकारहरु योजनावद्ध सामुहिक नीतिका साथ अघि बढ्न आवश्यक रहेको बताएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघका सचिव नवीन गुरुङले संचालन गरेका थिए ।