संखुवासभा । संखुवासभाको उत्तरी सिमानाका किमाथांकामा नेपाल–चीन व्यापार महोत्सव गर्ने बारेमा सरोकारवालासँग अन्तक्रिया कार्यक्रम गरिएको छ ।
मंगलबार सदरमुकाम खाँदबारीमा जिल्लाका सरोकारवालाहरूसँग अन्तक्रिया कार्यक्रम गरिएको हो । खाँदबारी सेवा समाज र संखुवासभा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल–चीन व्यापार महोत्सवको तयारीका लागि अन्तक्रिया कार्यक्रम गरिएको खाँदबारी सेवा समाजका केन्द्रीय उपाध्यक्ष जीवनाथ पोखरेलले बताए । किमाथांका नाकाबाट नेपाल र चीन बीच खुल्ला ब्यापार आदानप्रदान गर्न ब्यापार महोत्सव गर्ने तयारीमा जुटेको उपाध्यक्ष पोखरेलले बताए ।
‘नेपालमा उत्पादन हुने विभिन्न जडिबुटी, खाद्यबस्तु, मासुजन्यबस्तु, भाँडाकुडा र हस्तकलाका सामानहरु चीन सम्म खुल्ला निर्यात गर्न पाए नेपालले धेरै लाभ लिन सक्छ । यसले संखुवासभाका साथै कोशी प्रदेश मात्रै नभएर सिंगो नेपालले धेरै फाइदा लिन सक्ने भएकाले किमाथांका नाकालाई खुल्ला र सहज बनाउन सरकार समक्ष पटक–पटक कुराकानी भइरहेको छ । ब्यापार महोत्सवमा धेरै चिनियाँहरुलाई किमाथांका खुल्ला आउन सक्ने वातावरण बनाउन लागि रहेका छौं ।’-पोखरेलले भने ।

आगामी मंसिर देखि ढिलोमा पुस सम्म किमाथांकामा नेपाल–चीन ब्यापार महोत्सव गर्ने तयारीमा जुटेको पोखरेलको भनाइ छ । उक्त ब्यापार महोत्सव कार्यक्रममा नेपाल र चीनका उच्च तहका पदाधिकारीहरूको सहभागीता रहने बताइएको छ ।
किमाथांका नाकालाई खुल्ला र ब्यबस्थित रूपमा आवातजावात गर्नका लागि के गर्न सकिन्छ भनेर सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । किमाथांका नाकालाई ब्यबस्थित गरि खुल्ला आवातजावात बनाउनुपर्ने, त्यसो गरियो भने नेपालको अर्थतन्त्रमा टेवा पुग्ने उद्वेश्यले नाका खुल्ला गर्नका लागि परेको संखुवासभा उद्योग वाणिज्य संघ संखुवासभाका अध्यक्ष डेगराज बस्नेतले बताए ।

कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेलले नाकालाई ब्यबस्थित गर्न दुवै देशका सरकार प्रमुखले चाहेमा संम्भव हुने बताए । त्यसैगरि खाँदबारी देखि किमाथांका सम्म सडकको अवस्थाको बारेमा उत्तरदक्षिण कोसी सडक कार्यालयका प्रमुख रामबहादुर गुरुङले सडकको अवस्थाको बारेमा जानकारी दिदैं हिउँदमा महोत्सव गर्दा आवातजावात गर्न सकिने बताए ।
भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फूर्पु भोटेले किमाथांका ब्यापार महोत्सव गर्न गाउँपालिकाले केही बजेट समेत बिनियोजन गरेकाले संघ र प्रदेश सरकारले समेत बजेट ब्यबस्थापन गरि भोटखोला गाउँपालिका, संखुवासभा उद्योग वाणिज्य संघ र जिल्ला समन्वय समितिले संयुक्त रुपमा आयोजना गर्नुपर्ने धारणा राखेका थिए । ब्यापार महोत्सव गर्न तिब्बतको घाङरी उद्योग वाणिज्य संघ समेत सकारात्मक रहेको भोटेको भनाइ थियो ।
खाँदबारी सेवा समाजको पहलमा गत चैत महिनामा चिनियाँ राजदुतावासका कन्सुलरको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । नेपाली खाद्यबस्तुहरू, मासुजन्यबस्तु, भाँडाकुँडा र जडिबुटी लगायत चिजहरू चिन तर्फ निर्यात हुने गरेको छ । सोही चिजहरूलाई ब्यबस्थित ढंगले नाकाबाट खुल्ला रूपमा किनबेच गरि आम्दानी बढाउनु पर्ने उद्वेश्य रहेको बताइएको छ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले किमाथांका नाका खुल्ला गर्न सके आम्दानी बढाउन सकिने धारणा राखे । उनले दुवै देश सरकार प्रमुखहरुले नाकालाई खुल्ला गर्न पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल, सुरक्षा निकाय प्रमुखहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको उपस्थिति रहेको थियो । प्रभावित क्षेत्र भोटखोला गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुको साथै सडक, भन्सार, घरेलु, वन डिभिजन, भेटरिनरी पशुसेवा र उद्योगी, व्यापारी र सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरूहरूको उपस्थिति रहेको थियो ।
भिडियो Link : https://www.youtube.com/watch?v=pvsc5aCa0wU