कुनैपनि मानिसको २४ घण्टामा एकपटक होस् गुम्छ रे केहीछिनका लागि । एकमिनेटको हाराहारीमा मानिसले नकारात्मक पनि सोच्छ भनेर भनिन्छ ।
मानिसले कुनैसमयमा नकारात्मक काम गर्न सक्छ । कसैले जानी–जानी होस–हवासमा षडायन्त्रपूर्वक अथवा कसैले प्रतिशोध साँध्ने हिसाबले गलत काम अर्थात अपराध गर्छन् । अपराध गरिसकेपछि त्यसको न्यायिक निकाय र कानुनी प्रक्रियाहरु छन् । कानुन अनुसारको कारबाही हुन्छ नै । यो कानुनी राज्य हो । कानुन भन्दा माथि कोहीपनि छैन् । गलत काम गर्नेलाई अदालतले कानुन अनुसार सजाय तोक्ने गर्दछ । नेपालको संविधानमा मृत्युदण्ड दिने ब्यबस्था नभएपनि क्रुर, अमानवीय अपराध गर्नेहरुलाई कानुन अनुसार दोषी ठहरिएमा जन्मकैद अर्थात जीवनभर कारागारमा नै सजाय भोग्नुपर्ने नियम छ । दोषी ठहरिएपछि सजाय भुक्तान गर्ने थलो कारागार नै हो ।
अहिले कारागारलाई सुधार गृहको रुपमा विकास गरिदैं गएको छ । त्यसैले अपराध गरेपनि सुध्रिने मौका पाउनुपर्छ भन्ने मान्यता राखिदै आएको छ । तर, गएको साउन २३ गते राती संखुवासभाको जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको कारागारमा सुरक्षाकर्मीको घेराभित्र रहेको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोट–७ ककनीका आकाश बलामीको कुटपिटबाट मृत्यु भयो । ती दुई कैदीहरुले कारागारभित्रको शौचालयको झ्याल फोडेर भाग्ने कोसिस गरेको र बाहिरी घेरामा रहेका सुरक्षाकर्मीहरुले तत्कालै नियन्त्रणमा लिई कुटपिट गरेको र त्यसपछि कारागारभित्रका कैदीहरुले समेत मरणासन्न हुने गरि कुटपिट गर्दा मृत्यु भएको मानवअधिकारकर्मी र प्रहरीको निष्कर्ष छ ।
कैदीको मृत्युपछि एकसाता विभिन्न छलफल, पिडीतको शव नबुझने अडान, दोषी सार्वजनिक गर्नुपर्ने लगायतका कुराहरुले समय कटायो । अन्नतः सुरक्षा इन्चार्ज असई लक्ष्मी चौधरी र जेलर राजेन्द्र घिमिरे विरुद्ध किटानी जाहेरीपछि पिडीत शव बुझे, त्यसपछि घटना साम्य बन्दै गएको छ । अब चौधरी र अन्य प्रहरी कति जना कारबाहीको भागीदार बन्नेछन् भन्ने बारेमा प्रहरीले बताएको छैन् । त्यसपछि कैदीको पनि नाम मुछिएको भनिएको छ तर कति जना कैदीहरुको संलग्नता देखिएको छ भनेर प्रहरीले सार्वजनिक गरेको छैन् ? धेरै मानिसहरुले गम्भीर प्रश्न उठाएका छन—दुई जना विरुद्ध मात्रै किटानी जाहेरी दिएर ‘केस’लाई फितलो बनाउन त खोजिएको हैन् ?
अन्त्यमा, यो घटनापछि संखुवासभा कारागार असुरक्षित रहेको टिप्पणी हुन थालेको छ । यसअघि पनि कारागारभित्र हुने खुलेआम गतिविधीले अनेक प्रश्नहरु तेर्साएको छ । सुरक्षाकर्मी, चौकीदार, नाइके र भाइनाइकेहरु बीचको आन्तरिक प्रतिस्पर्धा र ‘सेटिङ्ग’ के लागि ? उनीहरुले सजाय भुक्तान गर्नका लागि कारागार चलान भएका कैदीहरु किन भित्र राज जमाउन खोज्छन् ? यो प्रश्न उब्जिएको छ । यसको खोजी हुन आवश्यक छ । काँही–कतै प्रहरी र कारागार प्रशासकको मिलेमतोमा यि सबै भईरहेका छैनन् ?