संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा आयोजना भएको ’ऐतिहासिक सेकाहा महोत्सव–२०८२ को आय ब्याय सार्वजनिक गरेको छ ।
विहीबार सेकाहामा पत्रकार सम्मेलन गरि सेकाहा महोत्सवको आयब्याय सार्वजनिक गरेको हो । गत पुस १० देखि १५ गते सम्म पाँचदिने तमू ल्होसारको अवसरमा सेकाहा सामुदायिक विकास क्लबको मुख्य आयोजना र मकालु बरूण बौद्व गुम्बाको सहआयोजनामा सेकाहा रंगशालामा सेकाहा महोत्सवको आयोजना गरिएको थियो ।
उक्त महोत्सवमा कुल आम्दानी ३३ लाख २७ हजार ५ सय ८२ रूपैया र खर्च २६ लाख ६५ हजार २ सय ७ रूपैया भएको थियो भने महोत्सवबाट कुल बचत ६ लाख ६२ हजार ५ सय ८२ रूपैया भएको पत्रकार सम्मेलनमा क्लबका सचिव सलबहादुर गुरूङले जानकारी दिए ।
त्यसैगरि क्लबका सेकाहा रंगशाला जग्गा खरिद समितिका संयोजक दिनेश कोरङगी गुरूङले क्लबले १५ रोपनी जग्गा ७४ लाख ४१ हजार १५ रूपैयामा खरिद गरेको जानकारी दिए । सेकाहा रंगशालामा हालसम्म सरकारी बजेट ८७ लाख रूपैया प्राप्त गरि काम भएको उनले बताए ।
सेकाहा महोत्सव सफल बनाउन सबैबाट साथ सहयोग प्राप्त भएको भन्दै सबैलाई क्लबका अध्यक्ष मनिराज गुुरुङले धन्यवाद दिए ।
कार्यक्रमका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले सेकाहा क्लबले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे ।
उक्त पत्रकार सम्मेलनमा खाँदबारी नगरपालिकामा मेयर महेश थपलिया, खाँदबारी ४ नम्बर वडाका कार्यबहाक वडाध्यक्ष पेम्बा शेर्पा, मकालु बरूण बौद्व गुम्बाका अध्यक्ष तेजबहादुर गुरूङ, पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, कोशी प्रदेश सदस्य इन्द्र गिरी, क्लबका पूर्वअध्यक्षहरू, वर्तमान पदाधिकारीहरू, टोल विकास संस्थाका पदाधिकारीहरू, नागरिक समाज, विद्यालय, स्थानीय युवाहरू लगायतका उपस्थिति रहेको थियो ।
वि.सं.२०६५ सालमा स्थापना भएको सेकाहा क्लबले खेलकुदका साथै विभिन्न सामाजिक कामहरू गर्दै आएको छ ।