संखुवासभा । सेपाक ताक्रो खेलमा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेतालाई चिचिला गाउँपालिकाले सम्मान गरेको छ ।
चिचिला गाउँपालिका–१ का रोशन गुरुङलाई गाउँपालिकाले नगद ५० हजार सहित सम्मान गरेको जिल्ला सेपाक ताक्रो संघ संखुवासभाका अध्यक्ष रोषण थापा मगरले जानकारी दिए ।
प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । खेलाडीको हौसलाका लागि चिचिला गाउँपालिकाले सेपाक ताक्रो खेलाडी गुरुङलाई नगद सहित सम्मानपत्रद्धारा सम्मानित गरेको हो । गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पा, शिक्षा शाखा प्रमुख वासु कोइरालाले नगद हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा जिल्ला सेपाक ताक्रो संघ संखुवासभाका अध्यक्ष रोषण थापा मगर सहितका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । गत फागुन १७ देखि २० सम्म सञ्चालन भएको सोपाक ताक्रो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गुरुङले नेपालको तर्फबाट खेल खेलेका थिए । यस्ता सम्मानले खेलाडीहरुमा उत्साह थप्ने सेपाक ताक्रो संघका जिल्ला अध्यक्ष थापा मगरले बताए । पछिल्लो समय सेपाक ताक्रो खेलमा नेपाली खेलाडीको खेल उत्कृष्ट बन्दैको उनको भनाइ छ ।