संस्कृति, पर्यटन तथा नागरिक उडयान मन्त्री सुदन किराँतीले हिमाल आरोहीहरुको सुरक्षा र संरक्षणका लागि कानुनमै व्यवस्था गरिने बताउनुभएको छ ।
केटु हिमाल आरोहण गरेर फर्किएका संखुवासभाका एकै परिवारका चारजना कीर्तिमानी दाजुभाइलाई सम्मान गर्दे मंगलबार उहाँले सरकारले हिमाल आरोहीहरुको संरक्षणका लागि कानुनमै व्यवस्था गर्ने बताउनुभएको हो ।
शेर्पा र हिमाको सम्बन्ध नङ र मासुको भएको उल्लेख गर्दे नेपाललाई विश्वसामु चिनाउन शेर्पाहरुको भूमिकमा महत्वपूर्ण रहेको पनि बताउनुभयो । पर्यटन क्षेत्रमा सुधार ल्याउन पुरानो पर्यटन नीति र ऐन कानुन बाधक भएको भन्दै मन्त्री किराँतीले चाँडै समयसापेक्ष ऐन ल्याउने पनि बताउनुभयो । उहाँले संखुवासभाले हिमाल अरोहीको जिल्ला भनेर परिचय बनाएको भन्दै मन्त्री किराँतीले एकै घरका चारदाजुभाईको किर्तिमानले नेपालको शिर उच्च बनाएको बताउनुभयो ।
कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले पर्यटन क्षेत्रमा हिमाल अरोहणको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । पूर्वसांसद राजेन्द्र गौतमले आरोहिको संरक्षण र सुरक्षा हुन नसक्दा धेरै अरोहीहरु बिदेश पलायन हुन थालेको धारणा राख्नुभयो ।
कोशी प्रदेशका सांसद राजेन्द्र कार्कीले कोशी प्रदेशलाई पर्यटनको हबको रुपमा बिकास गरीने बताउनुभयो । प्रख्यात हिमाल आरोही तथा पर्यटनबिद मिङमा शेर्पाले आर्थिक क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रलाई सरकारले चिन्न नसकेको बताउनुभयो ।
कार्यक्रममा पाकिस्तानमा रहेको बिश्वकै दोस्रो अग्लो हिमाल आरोहण गरेर नयाँ विश्वकीर्तिमान कायम गर्ने मुक्त शेर्पा, आङदावा शेर्पा, निग्मा दोर्ची शेर्पा र पिच्यूम्बी शेर्पालाई पर्यटन मन्त्री किराँतीले सम्मानित गर्नुभएको थियो । कार्यक्रम संखुवासभा–काठमाडौ पत्रकार समाजले गरेको थियो ।
राम्रो समाचार ।।