संखुवासभा । नेपाल महिला संघ संखुवासभाले आफ्नो ७७ औं स्थापना दिवसका अवसरमा माट्स नेपालद्वारा सञ्चालित खाँदबारीको बालकल्याण गृहलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
शुक्रबार नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग (बस्नेत) सहितको महिला संघमा आवद्ध टोलीले बालबालिकाको क्षेत्रमा क्रियाशील माट्स नेपाललाई सहयोग गरेको हो । टोलीमा कांग्रेस कोशी प्रदेश सदस्यद्धय कमला घले र सिर्जना शंकर, कांग्रेस नेतृ उषा कार्की, खाँदबारी १ का वडासदस्य शारदा पराजुली, निर्मला गुरुङ लगायतका कांग्रेस नेतृहरु बालकल्याण गृह पुगेका थिए ।
उनीहरुले बालकल्याण गृहमा नै पुगी ३ बोरा चामाल, ५ केजी दाल, २ लिटर तोरीको तेल र एक हजार रुपैयाको मासु हस्तान्तरण गरेको नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग (बस्नेत)ले बताईन् । महिला संघले स्थापना दिवशको अवसरमा बर्सेनि बालकल्याण गृह र कहिले मनकामनाधामको बृद्धबृद्धाहरुलाई सहयोग गर्ने संघको भनाइ छ।
अनाथ बालबालिकाहरुलाई संम्झिएर सहयोग गरेकोमा माट्स नेपालका अध्यक्ष नवीन दाहालले महिला संघलाइ धेरै–धेरै धन्यवाद दिएको बताए । उनले यस्ता सहयोगी दाताहरुकै भरमा बालकल्याण चलेको समेत बताए ।
माट्स नेपालले अनाथ र सहाराबिहिन् बालबालिकाको पालनपोषण र शिक्षादिक्षामा लामो समयदेखि काम गर्दै आएको छ ।